काठमाडौं । नेपाली काँग्रेसभित्र संगठन पुनर्जीवन र आधुनिक रूपान्तरणका लागि नयाँ पहल स्वरूप ‘जरा अभियान’ सुरु भएको छ । निर्वाचनमा व्यहोर्नुपरेको पराजयपछि जनतासँग टाढिएको संगठनलाई पुनः सुदृढ र सक्रिय बनाउन यो अभियान अघि बढाइएको कांग्रेसले जानकारी दिएको छ ।

पार्टी सभापति गगनकुमार थापाले केही दिनअघि जरा अभियानको सुरुवात गरेका थिए । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले ‘जरा अभियान’ औपचारिक कार्यक्रम मात्र नभई काँग्रेसलाई डिजिटल युगअनुकूल आधुनिक पार्टी बनाउने महाअभियान भएको बताए ।

उनले अबको राजनीति परम्परागत शैलीमा मात्र सीमित नरही प्रविधिमा आधारित भएको उल्लेख गरे । जेन–जी पुस्ताको आन्दोलनको उदाहरण दिँदै उनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत जनसहभागिता सम्भव भएको स्पष्ट पारे ।

आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ्ने तयारी रहेको पनि उनले बताए । विगतको निर्वाचनमा देखिएको कमजोर परिणाम र मतदातासँगको दूरीलाई सम्बोधन गर्न ‘जरा अभियान’ महत्वपूर्ण हुने विश्वास लिइएको उनले बताए ।