न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आफ्नो नेतृत्वबारे बाहिर सार्वजनिक भएको समाचार निराधार रहेको भन्दै त्यस्तो हल्ला फैलनुमा केही असन्तुष्ट सांसदहरू जिम्मेवार रहेको आरोप लगाएका छन् ।

सोमबार बिहान सञ्चारमाध्यमसँग दिएको अन्तर्वार्तामा प्रधानमन्त्री लक्सनले आफू पदबाट हट्ने वा हटाइने कुनै जोखिम नरहेको दाबी गर्दै भने, “त्यस्तो केही हुने छैन, मसँग मेरो ककसको पूर्ण समर्थन छ ।” ककसमा विश्वास मत ल्याउने कि नल्याउने भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिन चाहेनन् । उक्त प्रश्नको जवाफमा उनले भने, “हामी ककसमा के गर्छौं, त्यो हाम्रो विषय हो, तर राम्रो छलफल हुनेछ ।”

प्रधानमन्त्री लक्सनका यी टिप्पणीहरू आइतबार सार्वजनिक भएको सर्वेक्षणपछि आएका हुन्, जसमा नेशनल पार्टीको समर्थन ३० प्रतिशतमा झरेको देखाइएको छ, जुन लेबर पार्टीभन्दा सात अंकले पछाडि हो । लक्सनले उक्त नतिजामाथि पनि प्रश्न उठाउँदै भने, “यो अन्य सर्वेक्षणभन्दा फरक छ, जसले गठबन्धन सरकार पुनः निर्वाचित हुने देखाउँछ ।” उनले थपे, “म विश्वास गर्दिनँ कि न्युजिल्याण्डका नागरिकहरू अन्य गठबन्धन चाहन्छन् ।”

आफ्नो व्यक्तिगत लोकप्रियताबारे बोल्दै उनले भने, “सबैजनाले मलाई बार्बेक्युमा बोलाउन चाहँदैनन्,” तर कठिन समयमा अर्थतन्त्र सम्हाल्न आफ्नो नेतृत्वमा रहेको गठबन्धन नै उपयुक्त भएको उनले दाबी गरे ।

वेलिङ्टन विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै नेशनल पार्टीका अभियान प्रमुख सिमियोन ब्राउनले लक्सनप्रति पूर्ण समर्थन रहेको बताए। “हामीसँग उत्कृष्ट नेता छन् । ककसका रूपमा हामी एकजुट भएर काम गर्नुपर्छ,” उनले भने ।

ब्राउनले एक मात्र सर्वेक्षणको आधारमा निष्कर्ष निकाल्न नहुने भन्दै पार्टी नोभेम्बरमा हुने निर्वाचनमा केन्द्रित रहेको बताए । वरिष्ठ सांसद मार्क मिचेलले नेतृत्व परिवर्तनले पार्टीलाई कमजोर बनाउने चेतावनी दिँदै आफू प्रधानमन्त्री बन्ने कुनै योजना नरहेको स्पष्ट पारे । “म असन्तुष्ट सांसदबारे अड्कल गर्न चाहन्नँ, कुनै ‘विच–हण्ट’ भइरहेको छैन,” उनले भने ।

त्यस्तै सांसद पॉल गोल्डस्मिथले पनि आफू प्रधानमन्त्रीविरुद्ध नभएको र कसले असन्तुष्टि देखाइरहेको छ भन्ने जानकारी नभएको बताए । “४९ सदस्यीय ककसमा एक–दुई जना असन्तुष्ट हुनु सामान्य हो, तर हामी प्रधानमन्त्रीको पछाडि मजबुत रूपमा उभिएका छौं,” उनले भने । प्रधानमन्त्री लक्सनलाई हटाइए गठबन्धन सरकार विघटन हुन सक्छ भन्ने प्रश्नमा सिमोरले त्यसलाई “निरर्थक मिडिया अड्कलबाजी” भन्दै खारेज गरेका छन् ।