काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेर सूक्ष्म अनुसन्धान गरिरहेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृह मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सरकार यस घटनाप्रति अत्यन्त संवेदनशील रहेको स्पष्ट पारे।
गृहमन्त्री गुरुङले मन्त्रालयले अनुसन्धानलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेको र आफूले समेत व्यक्तिगत रूपमा यस प्रकरणको निरन्तर अनुगमन गरिरहेको बताए। अनुसन्धानका केही पक्षहरू गोप्य राखेर अघि बढाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले निष्कर्ष नआएसम्म सबै विवरण सार्वजनिक गर्नु उपयुक्त नहुने धारणा राखे।
उनले निर्मला पन्तको हत्या जस्तो संवेदनशील घटनालाई राजनीतिक विषय बनाइएकोप्रति दुःख व्यक्त गर्दै सत्य तथ्य पत्ता लगाउन सरकार प्रतिबद्ध रहेको बताए। दोषी पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन आवश्यक अनुसन्धान भइरहेको उनको भनाइ थियो।
“निर्मला पन्तको विषयमा मन्त्रालय पूर्ण रूपमा संवेदनशील छ। एक बालिकाको निर्मम हत्यापछि जसरी राजनीति गरियो, त्यसको अन्त्य गर्न पनि सम्बन्धित व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सूक्ष्म अनुसन्धान अगाडि बढाएका छौँ,” गृहमन्त्री गुरुङले भने।
उनले अनुसन्धानलाई निष्कर्षमा पुर्याएर पीडित परिवारलाई न्याय दिलाउने सरकारको प्रतिबद्धता दोहोर्याउँदै यस प्रक्रियामा सबै पक्षबाट सहयोगको अपेक्षा समेत व्यक्त गरे।
निर्मला पन्त हत्या प्रकरण लामो समयदेखि चर्चामा रहँदै आएको छ। घटनाको सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्ने माग विभिन्न तहबाट उठ्दै आएको छ। सरकारले पछिल्लो समय अनुसन्धानलाई थप प्रभावकारी बनाएको दाबी गरेको छ।
