नागोया — गायक अमृत गुरुङले ‘हो रामा रामा’ गीत गाउनासाथ हल झिलिमिली बत्ती र उत्साहले गुञ्जियो। जापान यात्रामा निस्किएको नेपथ्यले पहिलो पटक नागोयामा गरेको कन्सर्टलाई दर्शकले दुई घण्टासम्म निरन्तर साथ दिए।

पोखरामा १० हजार दर्शकबीच प्रस्तुति दिएर जापान पुगेको नेपथ्यलाई नागोयामा पनि नेपाली समुदायले न्यानो स्वागत गर्‍यो। सिजोउकाबाट बुलेट ट्रेन चढेर आएका प्रशंसकदेखि अध्ययन र रोजगारीका लागि बस्ने नेपालीसम्म सबैले कन्सर्टको मजा लिएका थिए। नेपथ्यका पुराना प्रशंसक विवेक पुरीले कन्सर्टले आफूलाई फेरि मातृभूमिसँग जोडेको बताए। ‘यो जिन्दगानी’ प्रस्तुत गर्दा गायक अमृतले विदेशी भूमिमा बस्दा पनि भाषा, पहिचान र देशप्रतिको दायित्व नबिर्सिन आग्रह गरे।

हलभरी ‘जोगले हुन्छ भेट’ लगायतका गीतमा दर्शकको उस्तै उत्साह देखियो। स्वस्तिका लामा लगायतका युवायुवतीले नेपालीपनको अनुभवले कन्सर्ट अझ विशेष बनेको बताए। अमृतसँगै ध्रुव लामा, सुविन शाक्य, नीरज गुरुङ, शान्ति रायमाझी र दिनेशराज रेग्मीले संगीत साथ दिए। आयोजकका अनुसार नागोयामा भएको यो कार्यक्रम हालसम्मकै सबैभन्दा रमाइलो र सफल कन्सर्टमध्ये एक मानिएको छ, कान्तिपुरमा समाचार छापिएको छ । नेपथ्यको टोली अब टोकियोतिर अघि बढ्दैछ। ‘टोकियो डोम सिटी हल’ मा नोभेम्बर १८ मा र नोभेम्बर २४ मा ओसाकामा नेपथ्य फेरि प्रदर्शन गर्नेछ।