काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरू एक भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
बिहीबार ललितपुरको ज्वागलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँगको भेटपछि प्रतिक्रिया दिँदै डा। भट्टराईले आफू वैकल्पिक शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न सुझाव दिन पुगेको बताए । नयाँ र वैकल्पिक शक्तिहरू एक भएमा आफ्नो समर्थन रहने उनले स्पष्ट पारे ।
“नयाँ र वैकल्पिक जति पनि शक्तिहरू छन्, सबै एक भएर अघि बढ्नुस्, मेरो समर्थन रहन्छ भनेँ,” डा। भट्टराईले भने ।
बिहीबार बिहानैदेखि प्रमुख साहलाई भेट्न विभिन्न राजनीतिक दलका नेताहरू ज्वागल पुगेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेता शिशिर खनाललगायत नेताहरूले साहसँग छलफल गरेका छन् ।
यसैगरी अन्तरिम सरकारका मन्त्री तथा उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, नेपाली कांग्रेसका नेता डा। सुनिल शर्मा, नेता अमरेशकुमार सिंहलगायतका नेताहरूले पनि प्रमुख साहसँग भेट गरेका छन् ।
आगामी निर्वाचनमा नयाँ राजनीतिक शक्तिहरू एक भएर अघि बढ्नुपर्ने विषयमा केन्द्रित रहेर यी भेटघाट र छलफलहरू भएको बताइएको छ ।
