काठमाडौं । अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको घटनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्।

मन्त्रालयका अनुसार समितिलाई घटनासँग सम्बन्धित कर्मचारीहरूको भूमिका, जिम्मेवारी तथा सम्भावित संलग्नताबारे विस्तृत अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ। साथै अध्ययन भिसा सिफारिस प्रक्रियामा अपनाइएका विधि, कागजात प्रमाणीकरणको अवस्था र प्रक्रियागत कमजोरीहरूको समेत अध्ययन गरिनेछ।

वाल्मिकी विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिसका लागि पेश गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको प्रारम्भिक निष्कर्षपछि मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ। सो घटनासँग सम्बन्धित विदेशी नागरिकहरूको भिसा प्रक्रियालाई तत्कालका लागि अगाडि नबढाउन सम्बन्धित निकायलाई आग्रह गरिसकिएको छ।

यसअघि अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात तथा नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि मन्त्रालयले गृह मन्त्रालयलाई समेत अनुसन्धानका लागि पत्राचार गरेको थियो।

मन्त्रालयले अध्ययन भिसा प्रणालीको विश्वसनीयता र पारदर्शितासँग जोडिएको यस घटनालाई गम्भीर रूपमा लिएको बताउँदै छानबिन प्रतिवेदनका आधारमा आवश्यक प्रशासनिक तथा कानुनी कारबाही अघि बढाइने स्पष्ट पारेको छ।

अध्ययन भिसा सिफारिस प्रक्रियामा देखिएको यो घटनाले सरकारी संयन्त्रको निगरानी प्रणाली, कागजात प्रमाणीकरण प्रक्रिया तथा शैक्षिक संस्थाहरूको नाम दुरुपयोगको विषयमा थप प्रश्न उठाएको छ। मन्त्रालयले यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक सुधारात्मक कदम चालिने जनाएको छ।