काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डबारे स्थापित आधिकारिक कथामाथि गम्भीर प्रश्न उठाउँदै तत्कालीन युवराज दीपेन्द्र शाहले आफ्नै परिवारको हत्या गरेको भन्ने दाबी पुष्टि नभएको बताएका छन्।

शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य तथा राजपरिवारका अन्य सदस्यहरूको ज्यान जाने गरी भएको दरबार हत्याकाण्डपछि विश्वव्यापी रूपमा फैलाइएको कथामा सत्यता नभएको दाबी गरे।

उहाँले हत्याकाण्डलाई युवराज दीपेन्द्रको प्रेम सम्बन्धसँग जोडेर तयार पारिएको ‘रेडिमेड कथा’ विश्वभर फैलाइएको उल्लेख गर्दै त्यसको तथ्यगत पुष्टि आजसम्म हुन नसकेको बताउनुभयो।

ओलीले भन्नुभयो, “२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो। त्यसलगत्तै विश्वभर एउटा कथा फैलाइयो—फलानोसँग प्रेम सम्बन्ध थियो, त्यसैका कारण युवराज दीपेन्द्रले बाबु, आमा, भाइ, बहिनी, काका, काकीसहित सम्पूर्ण राजपरिवारको हत्या गरेर आफूले पनि आत्महत्या गरे। यो एउटा रेडिमेड कथा थियो, जसले २० वर्षभन्दा बढी समयसम्म एकछत्र शासन गर्‍यो। तर सही सूचना के हो, त्यो अझै सार्वजनिक भएको छैन।”

उहाँले उक्त घटनाबारे पर्याप्त अध्ययन र अनुसन्धान नभएको दाबी गर्दै, “त्यो कथाको रचनाकार को हो, मूल स्रोत को हो भन्ने पनि स्पष्ट छैन। तर कुनै गहिरो अनुसन्धान नगरी त्यही कथालाई विश्वका ठूला सञ्चारमाध्यमहरूले समेत तथ्यजस्तै गरी प्रसारण गरे, जुन आश्चर्यजनक विषय हो,” भन्नुभयो।

नेपालको इतिहासकै सबैभन्दा रहस्यमय घटना

२०५८ साल जेठ १९ गते (१ जुन २००१) नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराजका भाइ निराजन, बहिनी श्रुति तथा राजपरिवारका अन्य सदस्यसहित १० जनाभन्दा बढीको मृत्यु भएको थियो। घटनामा गम्भीर घाइते भएका युवराज दीपेन्द्र तीन दिनपछि निधन भएपछि उनी केही समयका लागि औपचारिक रूपमा राजा घोषित भएका थिए।

घटनापछि तत्कालीन सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले नै गोली चलाएको निष्कर्ष सार्वजनिक गरेको थियो। तर त्यसयता पनि दरबार हत्याकाण्डबारे विभिन्न अड्कलबाजी, षड्यन्त्रका आशंका र वैकल्पिक व्याख्याहरू सार्वजनिक हुँदै आएका छन्। यद्यपि, तीमध्ये कुनै पनि दाबीलाई आधिकारिक रूपमा पुष्टि गरिएको छैन।

अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिले नेपालको इतिहासकै सबैभन्दा रहस्यमय घटनामध्ये एक मानिने नारायणहिटी दरबार हत्याकाण्डबारेको बहसलाई फेरि एकपटक सार्वजनिक चर्चाको केन्द्रमा ल्याएको छ।य घटनामध्ये एक मानिने नारायणहिटी दरबार हत्याकाण्डबारेको बहसलाई फेरि एकपटक सार्वजनिक चर्चाको केन्द्रमा ल्याएको छ।