काठमाडौं – मध्यपूर्व अर्थात् खाडी क्षेत्रमा थप तीन मालवाहक जहाजमाथि आक्रमण भएपछि बिहीबार विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ, जसले विश्व अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको छ।
ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग मानिने हर्मुज स्ट्रेट वरपर बढेको सैन्य तनावका कारण तेल ढुवानीमा जोखिम बढेको छ। अमेरिका–इजरायल र इरानबीच बढ्दो तनावको प्रत्यक्ष असर ऊर्जा बजारमा देखिएको विश्लेषकहरू बताउँछन्। आक्रमणको जोखिम बढेपछि उक्त समुद्री मार्गबाट हुने तेल ढुवानी लगभग अवरुद्धजस्तै भएको जनाइएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिका तथा उसका सहयोगी देशसँग सम्बन्धित जहाजहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ। इरानले तनाव थप बढेमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २०० डलरसम्म पुग्न सक्ने चेतावनीसमेत दिएको छ।
यसैबीच बढ्दो मूल्य नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आफ्नो आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने घोषणा गरेको छ। तर बजारमा देखिएको अनिश्चितता र त्रासका कारण यसले तत्काल ठूलो प्रभाव पार्न नसकेको विश्लेषकहरू बताउँछन्।
ऊर्जा क्षेत्रका विज्ञहरूले यस कदमलाई “अस्थायी राहत” मात्र भएको उल्लेख गर्दै आपूर्ति असुरक्षित रहेसम्म तेलको मूल्य उच्च नै रहने चेतावनी दिएका छन्।
तेलको मूल्यवृद्धिको प्रभाव विश्वभर देखिन थालेको छ। अमेरिकामा पेट्रोलको मूल्य बढेको छ भने फिलिपिन्स, थाइल्यान्डलगायत एसियाली देशहरूमा इन्धन भर्नका लागि लामो लाइन लाग्न थालेको छ।
ऊर्जा संकटको सम्भावना ध्यानमा राख्दै केही देशहरूले सरकारी कार्यालयको काम गर्ने समय घटाउने, घरबाट काम गर्न प्रोत्साहन गर्ने लगायतका उपायहरू अपनाउन थालेका छन्।
