क्राइस्टचर्च — गैरआवासीय नेपाली संघ न्यूजिल्याण्ड (एनआरएनए एनजेड) ले गत १८ अप्रिल २०२६ मा क्राइस्टचर्च सेन्ट्रल सिटीस्थित ४५५ हेग्ली एभिन्युमा आयोजना गरेको नेपाल फेस्टिभल २०२६ ऐतिहासिक र भव्य रूपमा सफल भएको छ । न्यूजिल्याण्डको साउथ आइल्याण्डमा पहिलो पटक आयोजित यस स्तरको नेपाली सांस्कृतिक महोत्सवमा करिब ७,००० भन्दा बढी दर्शकहरूको सहभागिता रहेको थियो, जसले नेपाली समुदायको एकता, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको एनआरएनए एनजेडले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल फेस्टिभल २०२६ एनआरएन न्यूजिल्याण्ड र क्यान्टरबरी क्षेत्रका विभिन्न नेपाली समुदाय संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न भएको हो । यसमा नेपाल न्यूजिल्याण्ड फ्रेन्डसिप सोसाइटी अफ क्यान्टरबरी, क्यान्टरबरी नेपाली सोसाइटी, तमु धी क्यान्टरबरी, मिड क्यान्टरबरी नेपाली सोसाइटी, सम्बन्ध इभेन्ट्स, नेवाःगुठी न्यूजिल्याण्ड इन्क, र शेर्पा सोसाइटी अफ न्यूजिल्याण्डको महत्वपूर्ण सहभागिता रहेको थियो । यो महोत्सव पूर्ण रूपमा सामूहिक प्रयासको परिणाम हो, जसमा समुदायका विभिन्न संस्था, स्वयंसेवक र व्यक्तिहरूको निरन्तर योगदान रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“यो महोत्सव केवल कार्यक्रम होइन, हाम्रो समुदाय एकताबद्ध, संगठित र सक्षम छ भन्ने शक्तिशाली सन्देश हो । ७,००० भन्दा बढी मानिसहरू क्राइस्टचर्चमा एकत्रित हुनु मेरो जीवनकै अविस्मरणीय क्षण हो,” युनिभर्सिटी अफ क्यान्टरबरीका प्रा. डा. राजेश ढकालले प्रतिक्रिया दिएका छन्, विज्ञप्तिमा भनिएको छ ।
“संस्कृति, समुदाय र सम्बन्धको उत्सव” भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा नेपाली सांस्कृतिक परम्परा र आधुनिक प्रस्तुतिको सुन्दर मिश्रण देख्न पाइयो। कार्यक्रममा प्रत्यक्ष सांगीतिक प्रस्तुति, परम्परागत तथा आधुनिक नृत्य, नेपाली खानाका परिकार, सांस्कृतिक प्रदर्शनी, बजार स्टल र परिवारमैत्री गतिविधिहरू समावेश थिए । नेपालबाट विशेष रूपमा आमन्त्रित लोकप्रिय कलाकार पशुपति शर्मा को प्रस्तुति महोत्सवको प्रमुख आकर्षण बनेको थियो।
कार्यक्रममा नेपाल र न्यूजिल्याण्डबीचको ऐतिहासिक सम्बन्धलाई पनि स्मरण गरिएको थियो, जसको आधार सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथा आरोहणमार्फत स्थापना गरेको मित्रता मानिन्छ। फेस्टिभलका प्रमुख अतिथि मानसिक स्वास्थ्य मन्त्री म्याट डुसीले नेपाली समुदायको योगदानको प्रशंसा गर्दै नेपाल र न्यूजिल्याण्डबीचको मित्रता अझ सुदृढ भएको बताएका थिए। विशेष अतिथि माननीय डा. मेगन वुड्सले एकताबद्ध समुदायले भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताएकी थिइन् ।
विज्ञप्तिमा एनआरएन न्यूजिल्याण्डले महोत्सव सफल बनाउन भूमिका खेल्ने स्टेरिङ कमिटी, स्वयंसेवक, कलाकार, समुदाय संस्था, प्रायोजक र सहभागी सबैप्रति गहिरो आभार व्यक्त गरेको छ। महिनौँ लामो तयारी, समन्वय र निरन्तर प्रयासले मात्र यो ऐतिहासिक सफलता सम्भव भएको हो ।
एनआरएन न्यूजिल्याण्डका अध्यक्ष डा. अच्युत अर्याल, उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण भण्डारी र महासचिव कमल (नरहरी) बासेलले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा सम्पूर्ण समुदायप्रति धन्यवाद व्यक्त गर्दै यो महोत्सव नेपाली संस्कृति, एकता र पहिचानको ऐतिहासिक प्रदर्शन भएको उल्लेख गरेका छन् ।
