भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी आन्दोलनसँग सम्बद्ध युवाहरू काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका छन्।

रक्षा बम नेतृत्वको जेनजी फ्रन्ट, मोनिका निरौला नेतृत्वको जेनजी मुभमेन्ट अलायन्ससहित विभिन्न समूहका युवाहरू माइतीघरमा भेला भई प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै प्रदर्शन गरेका हुन्। आज बस्ने सम्भावित मन्त्रिपरिषद् बैठकमा उक्त प्रतिवेदन पेस हुन सक्ने बताइएको छ।

प्रदर्शनका क्रममा युवाहरूले ‘कार्की आयोगको प्रतिवेदन खोइ ?’, ‘अब गोप्य राख्ने होइन’, ‘कलमले लेखेको सत्यलाई सत्ताको कैँचीले नकाट’, ‘प्रतिवेदन सार्वजनिक गर, सत्य उजागर गर’ तथा ‘हामी जान्न चाहन्छौँ, कसले चलायो गोली ? कसले गर्यो विद्यार्थीको हत्या ?’ जस्ता नारा लगाएका थिए।

कार्की नेतृत्वको आयोगले तीन पटक म्याद थप गर्दै तयार पारेको प्रतिवेदन फागुन २४ गते प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको थियो। तर सरकारले हालसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन।

प्रतिवेदन सार्वजनिक नगरी सिधै कार्यान्वयनतर्फ लैजाने तयारी भइरहेको भन्ने चर्चा चल्न थालेपछि युवाहरू आक्रोशित हुँदै सडक प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनकारी युवाहरूले कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने र सत्य तथ्य जनतासामु ल्याउनुपर्ने माग गरेका छन्। साथै, कार्की नेतृत्वकै सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनीहरूको भनाइ छ।