प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु सरकारका लागि ठूलो उपलब्धि भएको बताएकी छन्। मुलुकमा विभिन्न आशंका र अनिश्चितताबीच निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै उनले देशको भलाइ चाहने सबैका लागि यो खुसीको विषय भएको उल्लेख गरिन्।
प्रधानमन्त्रीका अनुसार सरकारलाई दिइएको मुख्य जिम्मेवारी समयमै पूरा गर्न सकेकोमा सन्तुष्टि महसुस भएको छ। “देशको चिन्ता सबैलाई थियो। अनिश्चितताको बीचमा पनि शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भयो। सरकारलाई दिइएको जिम्मेवारी पूरा गर्न सकेकोमा आनन्द लागेको छ,” उनले भनिन्।
उनले नेतृत्व सम्हालेको प्रारम्भिक चरणमा धेरै चुनौतीहरू रहेको स्वीकार गर्दै छोटो समय, राजनीतिक अविश्वास र विभिन्न आलोचनाबीच काम गर्नुपरेको स्मरण गरिन्। जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिका कारण सरकारप्रति धेरैले अविश्वास व्यक्त गरेको र विभिन्न दलबाट आलोचना आएको उनले बताइन्।
उनका अनुसार सरकारसँग ठूलो राजनीतिक संगठन वा बलियो संरचना नभएको अवस्थामा सीमित टोलीले जिम्मेवारी सम्हाल्नुपरेको थियो। विदेशका कूटनीतिक प्रतिनिधिहरूसँगको भेटघाटमा पनि सरकार सफल हुन्छ कि हुँदैन भन्ने प्रश्न उठ्ने गरेको उनले बताइन्। त्यसबीच मन्त्रिपरिषद्का सदस्यहरूले एकअर्कालाई हौसला दिँदै काम अगाडि बढाएको उनले उल्लेख गरिन्।
प्रधानमन्त्रीले आफूलाई सुरुदेखि नै चुनौतीको सामना गर्ने आत्मविश्वास रहेको बताइन्। सानैदेखि धैर्य र साहसका साथ काम गर्न सिकाइएको उल्लेख गर्दै उनले देशका लागि केही सकारात्मक काम गर्न सकियोस् भन्ने भावना नै आफ्नो प्रेरणा बनेको बताइन्।
उनले निर्वाचनको क्रममा हिंसा नहोस् र एक थोपा रगत पनि नझरोस् भन्ने चाहना राखेको बताउँदै अन्ततः निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु सबैको सामूहिक प्रयासको परिणाम भएको बताइन्। यस सफलताका लागि उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा निर्वाचनमा खटिएका सबै सुरक्षाकर्मीलाई धन्यवाद दिइन्।
निर्वाचन सफल बनाउन निर्वाचन आयोगको भूमिका पनि महत्वपूर्ण रहेको भन्दै उनले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूको योगदानलाई विशेष रूपमा प्रशंसा गरिन्। साथै गृहमन्त्री ओमप्रकाश अर्यालसहित मन्त्रिपरिषद्का सबै सदस्यले गरेको सहयोगको पनि उनले सराहना गरिन्।
प्रधानमन्त्रीले सरकारलाई सफल बनाउन आफ्ना निकट सहयोगी प्रेस सल्लाहकार रामबहादुर रावल र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको योगदान पनि स्मरण गरिन्। सीमित जनशक्तिबीच सचिवालयले ठूलो जिम्मेवारी सम्हालेको उनको भनाइ थियो।
निर्वाचन गराउने क्रममा राजनीतिक दलहरूसँग निरन्तर संवाद र छलफल गरिएको उनले बताइन्। देशभर रहेका विभिन्न राजनीतिक दल तथा आन्दोलनरत समूहसँग संवाद गरेर निर्वाचनको वातावरण निर्माण गर्न सरकार सफल भएको उनको दाबी छ।
निर्वाचन परिणामबारे बोल्दै उनले हालको मतपरिणामलाई युवाको परिवर्तन चाहना र जेनजी आन्दोलनको प्रभावका रूपमा व्याख्या गरिन्। उनले नयाँ दलले प्राप्त गरेको जनादेशलाई सम्मान गर्नुपर्ने र पुराना दलले पनि धैर्यका साथ जनताको निर्णय स्वीकार गर्नुपर्ने बताइन्।
सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले सक्दो प्रयास गरेको उल्लेख गर्दै उनले अनावश्यक खर्च कटौती, पारदर्शी नियुक्ति र प्रशासनिक सुधारमा ध्यान दिएको दाबी गरिन्। सरकारी खर्चमा संयमता अपनाइएको र आवश्यकताभन्दा बढी सुविधा नलिएको पनि उनले बताइन्।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको र त्यसबारे मन्त्रिपरिषद्मा छलफल गरी आवश्यक निर्णय लिइने उनले जानकारी दिइन्।
केही दिनमै नयाँ सरकार गठन हुने भएकाले आगामी नेतृत्वलाई सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र युवालाई रोजगारीका अवसर सिर्जना गर्ने काममा ध्यान दिनुपर्ने सुझाव उनले दिइन्। साथै कर्मचारीतन्त्र सुधार र प्रशासनिक संरचनामा सुधार आवश्यक रहेको पनि उनको भनाइ थियो।
प्रधानमन्त्री पदबाट बाहिरिएपछि आफू फेरि निजी जीवनमा फर्किने बताउँदै उनले अब कुनै पदको मोह नरहेको उल्लेख गरिन्। नयाँ सरकार गठनसँगै मुलुकले स्थायित्व र विकासको बाटो समात्ने विश्वास उनले व्यक्त गरिन्।
राससका समाचारदाता कालिका खड्काले गरेको कुराकानीका अधारमा तयार गरिएको समाचार
