काठमाडौँ । पछिल्ला वर्षहरूमा उठ्न बाँकी कर वक्यौता निरन्तर बढ्दै गएको आन्तरिक राजस्व विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार प्रत्येक वर्ष कर वक्यौता वृद्धि हुँदै जाँदा आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्ममा ब्याज, थप दस्तुर तथा विलम्ब शुल्कसहित उठ्न बाँकी कर रकम ९४ अर्ब ९५ करोड पुगेको छ ।
विभागका अनुसार पछिल्लो समय कर कार्यालयले निर्धारण गरेको कर रकमप्रति करदाताले चित्त नबुझाउने प्रवृत्ति बढेको छ । कर निर्धारणप्रति असहमति जनाउँदै आन्तरिक राजस्व विभागमा प्रशासकीय पुनरावलोकन तथा विभिन्न न्यायिक निकायमा अपिलमा रहेको विवादित कर रकम १ खर्ब ८० अर्ब १० करोड पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा वक्यौता संकलनतर्फ आयकरमा २२ अर्ब ७६ करोड लक्ष्य तोकिएकोमा ८ अर्ब ७१ करोड मात्र असुली भएको छ, जुन लक्ष्यको ३८.२९ प्रतिशत हो । मूल्य अभिवृद्धि कर (मू.अ.कर) तर्फ १६ अर्ब ३३ करोड लक्ष्य रहेकोमा १० अर्ब ३३ करोड असुली भई ६३.२८ प्रतिशत प्रगति भएको विभागले जनाएको छ ।
वक्यौता समायोजनतर्फ आयकरमा २७ अर्ब ३८ करोड लक्ष्य तोकिएकोमा २१ अर्ब ३९ करोड उठेको छ, जसले ७८.१ प्रतिशत प्रगति देखाएको छ । मू.अ.करतर्फ भने १८ अर्ब १७ करोड लक्ष्यको तुलनामा २२ अर्ब २९ करोड समायोजन भई १२२.६३ प्रतिशत प्रगति हासिल भएको छ ।
कानुनी कारबाहीमार्फत असुली गर्ने लक्ष्य ४ अर्ब ३९ करोड निर्धारण गरिए पनि अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७९ करोड मात्र असुली भएको छ, जुन लक्ष्यको ४०.७७ प्रतिशत हो ।
नेपालमा व्यवसाय, रोजगारी तथा लगानीबाट करयोग्य आय आर्जन गर्ने व्यक्तिले आयकर ऐन, २०५८ को दफा ९६ अनुसार स्वयं घोषणा गरी तोकिएको समयभित्र आय विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । तोकिएको समयभित्र कर दाखिला नगरेमा, कर परीक्षण वा अनुसन्धानबाट कर निर्धारण भएमा वा अन्य कारणले आन्तरिक राजस्व कार्यालयले निर्धारण गरेको आयकर, मू.अ.कर, अन्तःशुल्क तथा अन्य कर रकम नबुझाउँदा ती रकम वक्यौता कायम हुने व्यवस्था छ ।
यसरी कायम भएका कर वक्यौताको अभिलेख राख्ने, मासिक तथा वार्षिक संकलन लक्ष्य निर्धारण गर्ने, वक्यौता संकलन रणनीति तयार गर्ने, प्रगति अनुगमन गर्ने तथा उठेका वक्यौतासम्बन्धी जिज्ञासामा स्पष्टता दिने कार्य आन्तरिक राजस्व विभागको वक्यौता शाखाले गर्दै आएको जनाएको छ ।
न्युज एजेन्सी नेपालको सहयोगमा ।
