अकल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्यान्डले एघार सयभन्दा बढी नेपालीको सहभागितामा ७३औँ एभरेष्ट डे सफलतापूर्वक मनाएको छ । संघले नेपाल–न्युजिल्यान्ड वाइकाटो फ्रेन्डसिप सोसाइटी र साउथल्यान्ड नेपालीज सोसाइटी इन्कसँगको सहकार्यमा न्युजिल्यान्डका दुई सहर ह्यामिल्टन र इनभरकार्गिलमा एकैसाथ कार्यक्रम आयोजना गरेको हो ।

सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ऐतिहासिक दिनको सम्झनामा आयोजित कार्यक्रममा ह्यामिल्टनमा ८ सयभन्दा बढी तथा इनभरकार्गिलमा करिब ३ सय जनाको सहभागिता रहेको आयोजक संस्था एनआरएनए न्युजिल्यान्डले जनाएको छ ।

एनआरएनए न्युजिल्यान्डका अनुसार उक्त कार्यक्रमले न्युजिल्यान्डमा नेपाली समुदायको बढ्दो उपस्थिति, एकता र सामाजिक योगदानलाई उजागर गरेको छ । कार्यक्रम समुदायका संस्था, नेतृत्व र स्वयंसेवकहरूको सामूहिक प्रयासबाट सफलतापूर्वक सम्पन्न भएको बताइएको छ ।

सन् १९५३ मे २९ मा न्युजिल्यान्डका सर एडमण्ड हिलारी र शेर्पा तेन्जिङ नोर्गेले सगरमाथाको सफल आरोहण गर्दै विश्व इतिहासमा नयाँ अध्याय लेखेका थिए । उक्त उपलब्धि केवल हिमाल विजयमा सीमित नभई नेपाल र न्युजिल्यान्डबीचको मित्रता, विश्वास र सहकार्यको बलियो प्रतीकका रूपमा स्थापित भएको छ ।

यस अवसरमा एनआरएनए न्युजिल्यान्डले मे २९ लाई न्युजिल्यान्डको राष्ट्रिय पात्रोमा ‘एभरेष्ट डे’ का रूपमा औपचारिक मान्यता दिन सरकारसँग आग्रह गरेको छ । संघले जारी गरेको विज्ञप्तिमा सर एडमण्ड हिलारी न्युजिल्यान्डको राष्ट्रिय पहिचानसँग जोडिएको व्यक्तित्व भएकाले एभरेष्ट डेले पनि राष्ट्रिय मान्यता पाउनुपर्ने उल्लेख गरिएको छ ।

जारी विज्ञप्तिमा न्युजिल्यान्डमा रहेका नेपालीहरू चिकित्सक, इन्जिनियर, शिक्षक, व्यवसायी तथा विभिन्न पेशामार्फत देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गरिएको छ ।

ह्यामिल्टन र इनभरकार्गिलमा सम्पन्न ७३औँ एभरेष्ट डे कार्यक्रमले नेपाली समुदायले आफ्नो इतिहास, संस्कृति र पहिचानलाई सम्मान गर्दै न्युजिल्यान्डको समृद्धिमा निरन्तर योगदान गरिरहेको सन्देश दिएको आयोजकले जनाएको छ ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्टेयरिङ कमिटी, स्वयंसेवक, प्रायोजक, सांसद, मेयर, सामुदायिक अगुवा तथा विभिन्न संघसंस्थाप्रति एनआरएनए न्युजिल्यान्डले विशेष आभार व्यक्त गरेको छ ।