अमेरिकामा डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासन आएपछि अमेरिकी भिसा नीतिमा उल्लेखनीय परिवर्तनहरू देखिएका छन् । यी परिवर्तनहरूले विशेषगरी नेपाली विद्यार्थी, पर्यटक तथा अस्थायी कामदारहरूलाई प्रत्यक्ष असर पार्न थालेको छ । अध्यागमन सम्बन्धी जानकारहरूका अनुसार अहिले गैरआवासीय तथा आप्रवासी दुवै प्रकारका भिसा प्रक्रियामा निगरानी, जाँचबुझ र कडाइ बढाइएको छ।

नेपालका लागि आप्रवासी भिसाको अन्तिम चरणमा अस्थायी रोक लगाइएको छ । आई–१३० र आई–१४० लगायतका निवेदन प्रक्रिया भने नियमित रूपमा अगाडि बढिरहेका छन् । आवेदन स्वीकृत भई कन्सुलर अन्तर्वार्तासम्म पुगेका केही आवेदकहरूलाई भने तत्काल भिसा जारी नगर्ने व्यवस्था लागू गरिएको छ । विज्ञहरूका अनुसार यो स्थायी निर्णय नभई प्रशासनिक समीक्षा अन्तर्गतको अस्थायी व्यवस्था हो।

गैरआवासीय भिसामा भने थप कडाइ गरिएको छ । पहिले नेपाली नागरिकलाई पाँच वर्षसम्मको बहुप्रवेश (मल्टिपल) भिजिटर भिसा प्रदान गरिने प्रचलन रहे पनि अहिले छोटो अवधिका लागि मात्र भिसा जारी गरिन थालेको छ । साथै, भिसा अधिकृतको निर्णयअनुसार पाँच हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने व्यवस्था लागू गरिएको छ ।

अमेरिका प्रवेश गरेपछि जारी हुने आई–९४ अभिलेखलाई पनि विशेष महत्त्व दिन थालिएको छ। धेरै नेपालीहरू अझै पनि पासपोर्टमा लागेको भिसालाई नै बसाइको कानुनी आधार ठान्ने गर्छन् । तर वास्तविक रूपमा अमेरिकामा कति समय बस्न पाइन्छ भन्ने निर्धारण आई–९४ ले गर्छ । अधिकारीहरूले छ महिनाको सट्टा एक महिनाजति छोटो अवधि पनि तोक्न सक्ने भएकाले अमेरिका पुगेपछि आफ्नो आई–९४ अभिलेख अनिवार्य रूपमा जाँच गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

सामाजिक सञ्जालको निगरानी पनि अहिले अमेरिकी भिसा प्रक्रियाको महत्वपूर्ण हिस्सा बनेको छ । फेसबुक, इन्स्टाग्राम, एक्स, टिकटक लगायतका माध्यममा गरिएका गतिविधि, टिप्पणी, पोस्ट तथा डिजिटल इतिहासको विस्तृत अध्ययन गरिन्छ । पाँचदेखि दस वर्षअघिका सामग्रीसमेत जाँचबुझको दायरामा पर्न सक्ने बताइएको छ । राष्ट्रिय सुरक्षा, हिंसा वा चरमपन्थसँग सम्बन्धित सामग्री भेटिएमा भिसा प्रक्रिया प्रभावित हुन सक्छ ।

यसको प्रभाव विशेषगरी विद्यार्थीहरूमा देखिएको छ । विगतमा केही नेपाली विद्यार्थीहरूको भिसा रद्द गरिनुका साथै उनीहरूको सेभिस अभिलेख पनि खारेज गरिएका घटनाहरू सार्वजनिक भएका थिए । अनधिकृत रूपमा काम गरेको, भिसाका सर्त उल्लंघन गरेको वा कानुनी समस्या सिर्जना भएको अवस्थामा अहिले सानो गल्तीले पनि ठूलो परिणाम निम्त्याउन सक्ने अवस्था बनेको छ ।

विद्यार्थी भिसामा अमेरिकामा बस्ने अवधि सम्बन्धी नियममा पनि परिवर्तनको प्रस्ताव गरिएको छ । पहिले विद्यार्थीहरूले एकपछि अर्को शैक्षिक कार्यक्रम लिँदै लामो समयसम्म अमेरिका बस्न सक्ने व्यवस्था थियो । नयाँ प्रस्तावअनुसार अध्ययनको उद्देश्य पूरा भएपछि थप अध्ययन वा नयाँ कार्यक्रममा भर्ना नभएसम्म बसाइ अवधि विस्तार नहुने व्यवस्था लागू हुन सक्छ ।

भिजिटर भिसामा अमेरिका जानेहरूका लागि पनि नयाँ चुनौती थपिएको छ । लामो समय अमेरिका बसेर छोटो अन्तरालमै पुनः प्रवेश गर्न खोज्ने यात्रुहरूलाई सीमा अधिकारीहरूले शंकाको दृष्टिले हेर्न थालेका छन् । यस्ता अवस्थामा भिसा रद्द हुने, विमानमा चढ्न नपाउने वा भविष्यमा अमेरिका प्रवेशमा प्रतिबन्ध लाग्नेसम्मका जोखिम रहने विज्ञहरूको भनाइ छ ।

भिसा नवीकरण प्रक्रियामा समेत ठूलो परिवर्तन आएको छ । पहिले ड्रपबक्समार्फत अन्तर्वार्ताबिनै भिसा नवीकरण गर्न सकिने धेरै श्रेणीका आवेदकहरूले अहिले व्यक्तिगत अन्तर्वार्ता दिनुपर्ने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासमा समेत अधिकांश नवीकरणका लागि अन्तर्वार्ता अनिवार्य गरिएकाले अपोइन्टमेन्ट पाउन कठिन भएको र प्रतीक्षा समय बढेको बताइन्छ ।

अध्यागमन क्षेत्रका जानकारहरूका अनुसार नयाँ अमेरिकी नीतिले भिसा प्रक्रियालाई थप कडा, संवेदनशील र प्रतिस्पर्धात्मक बनाएको छ । नेपाली आवेदकहरूले सामाजिक सञ्जाल प्रयोग, भिसाका सर्तहरूको पालना, आई–९४ अभिलेखको जानकारी तथा यात्रा इतिहासबारे विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता झन् बढेको छ ।