तेहरान — इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम आगामी जुलाई ४ देखि राजधानी तेहरानमा सुरु हुने भएको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार पाँच दिनसम्म चल्ने श्रद्धाञ्जली तथा धार्मिक कार्यक्रम जुलाई ९ मा उनको गृहसहर मशहदमा पुगेर समापन हुनेछ।

८६ वर्षीय खामेनी गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको संयुक्त हवाई आक्रमणमा मारिएका थिए। तीन दशकभन्दा बढी समयसम्म इरानको सर्वोच्च नेताको भूमिका निर्वाह गरेका खामेनीको निधनसँगै मध्यपूर्वको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आएको विश्लेषण गरिएको छ।

अन्त्येष्टि कार्यक्रमअन्तर्गत जुलाई ७ मा इरानको प्रमुख धार्मिक केन्द्र मानिने पवित्र सहर कोममा विशेष धार्मिक समारोह आयोजना गरिने बताइएको छ। इस्लामिक परम्पराअनुसार मृतकलाई २४ घण्टाभित्र दफन गर्नुपर्ने भए पनि युद्ध तथा राष्ट्रिय संकटजस्ता विशेष परिस्थितिमा अन्त्येष्टि प्रक्रिया केही समयपछि गर्न सकिने व्यवस्था रहेको छ।

खामेनीले आफ्नो नेतृत्वकालमा इरानलाई अमेरिका र पश्चिमी शक्तिहरूको प्रमुख प्रतिद्वन्द्वीका रूपमा स्थापित गरेका थिए। उनले लेबनानस्थित हिजबुल्लाहलगायत क्षेत्रीय सहयोगी समूहहरूको माध्यमबाट मध्यपूर्वमा इरानको प्रभाव विस्तार गरेका थिए। देशभित्र भएका सरकारविरोधी आन्दोलन र जनविद्रोहहरूलाई पनि उनले कडा रूपमा नियन्त्रण गरेका थिए।

उनको निधन गराएको हवाई आक्रमणले तेहरानस्थित मुख्य सरकारी निवास पूर्ण रूपमा ध्वस्त बनाएको बताइएको छ। सोही आक्रमणमा उनका छोरा मोज्तबा खामेनी घाइते भएका थिए भने परिवारका अन्य सदस्यहरू पनि प्रभावित भएका थिए। त्यसयता मोज्तबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा जिम्मेवारी दिइएको छ।

खामेनीको निधनपछि क्षेत्रीय तनाव थप बढ्ने आशंका गरिए पनि पछिल्ला घटनाक्रमले कूटनीतिक पहलतर्फ संकेत गरेका छन्। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिका लामो समयदेखि जारी तनाव अन्त्य गर्ने दिशामा अघि बढेको दाबी गरेका छन्। उनका अनुसार तीन महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्वपछि दुवै पक्ष शान्ति सम्झौताको प्रारम्भिक रूपरेखामा सहमत भएका छन्।

खामेनीको अन्त्येष्टि कार्यक्रमलाई इरानको समकालीन इतिहासकै सबैभन्दा ठूलो राष्ट्रिय श्रद्धाञ्जली समारोहमध्ये एक मानिएको छ, जहाँ लाखौँ नागरिक, धार्मिक अगुवा तथा विदेशी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।