अमेरिकाले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ । शनिबार अमेरिकी सेनाले राजधानी काराकाससहित विभिन्न शहरहरूमा आक्रमण गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको थियो । दुवैलाई अमेरिकाले न्यूयोर्क पुर्याएर हिरासतमा राखेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणमा कुनै मानवीय क्षति नभएको दाबी गरेका थिए । तर न्युयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको रिपोर्टमा भने अमेरिकी सेनाले राष्ट्रपति मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यले गरेको सैन्य कारबाहीका क्रममा सर्वसाधारण र सैनिक गरी कम्तीमा ४० जनाको ज्यान गएको उल्लेख गरिएको छ ।
अखबारले नाम नखुलाउने सर्तमा भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै आक्रमणमा सर्वसाधारण नागरिक र सुरक्षाकर्मी दुवैको मृत्यु भएको जनाएको छ ।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले आक्रमणमा ठूलो स्तरको हवाई अभियान सञ्चालन गरिएको उल्लेख गरेको छ । रिपोर्टअनुसार १५० भन्दा बढी अमेरिकी विमान प्रयोग गरी भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारिएको थियो । त्यसपछि सैन्य हेलिकोप्टरमार्फत स्थल सेना परिचालन गरी राष्ट्रपति मादुरो रहेको घरमा आक्रमण गरिएको थियो ।
हालसम्म ह्वाइट हाउस वा पेन्टागनले मृतकको संख्या वा अपरेसनको पूर्ण विवरणबारे आधिकारिक पुष्टि गरेको छैन । अमेरिकी सेनाले भने शनिबार बिहानै मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई भेनेजुएलाबाट बाहिर लगिएको जनाएको छ । राष्ट्रपति ट्रम्पले यसलाई ‘रातारात सम्पन्न गरिएको सफल अपरेसन’ को संज्ञा दिएका छन् ।
ट्रम्पले ‘सुरक्षित, उपयुक्त र विवेकपूर्ण सत्ता हस्तान्तरण’ नहुन्जेलसम्म संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको प्रशासन सञ्चालन गर्ने पनि बताएका छन् । हाल भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन् ।
यसैबीच न्युयोर्कको दक्षिणी जिल्लाका संघीय अभियोजकहरूले मादुरो र फ्लोरेसमाथि अमेरिकामा लागुऔषध कोकिन तस्करीलगायत विभिन्न आपराधिक अभियोग दायर गरेका छन् ।
यता, आलोचकहरूले अमेरिकाको यो आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको, अमेरिकी कंग्रेसको स्वीकृति बिना गरिएको र यसले भेनेजुएलासहित समग्र क्षेत्रमै थप अस्थिरता निम्त्याउने जोखिम रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
