न्यूजील्याण्ड ब्लड सर्भिसले २०२६ को मध्यसम्म पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषहरू (एमएसएम) बाट रक्तदान स्वीकार गर्ने तयारी अघि बढाएको छ। यसका लागि आवश्यक नीतिगत, प्राविधिक तथा सुरक्षासम्बन्धी प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ।

न्यूजील्याण्ड ब्लडले करिब दुई वर्षअघि नियम परिवर्तन गर्ने प्रतिबद्धता जनाएको थियो भने औषधि नियामक संस्था मेडसेफले यसका लागि करिब एक वर्षअघि स्वीकृति प्रदान गरेको थियो।

नयाँ नीतिअनुसार रक्तदाताको मूल्याङ्कन व्यक्तिगत रूपमा गरिनेछ। हाल लागू नियमअनुसार अघिल्लो तीन महिनाभित्र अर्को पुरुषसँग यौनसम्पर्क गरेका पुरुषहरूलाई सामूहिक रूपमा रक्तदान गर्न रोक लगाइएको छ।

न्यूजील्याण्ड ब्लडका प्रवक्ता डा. ग्याभिन चोका अनुसार यो परिवर्तन प्रमाणमा आधारित र चरणबद्ध प्रक्रियामार्फत अघि बढाइएको हो। उनले SPOT (Sex and Prevention of Transmission) अध्ययनमा सहभागिता जनाउँदै समलैंगिक, उभयलैंगिक तथा MSM समुदायका व्यक्तिहरूको रक्तदानसम्बन्धी धारणा अध्ययन गरिएको जानकारी दिए।

आरएनजेडले आफ्नो समाचारमा उल्लेख गरेअनुसार अध्ययनबाट सामूहिक प्रतिबन्धभन्दा व्यक्तिगत जोखिम मूल्याङ्कन प्रणालीप्रति स्पष्ट समर्थन देखिएको डा. चोले बताए। यसपछि बेलायत र क्यानाडाजस्ता मुलुकका रक्त सेवा संस्थाहरूको अभ्यास अध्ययन गरिएको थियो, जहाँ यस्तै नीति सफलतापूर्वक कार्यान्वयन भइसकेको छ।

उनका अनुसार ती मुलुकहरूले नीति लागू गरेपछि सार्वजनिक गरेका तथ्यांकले एचआईभीलगायत संक्रमणको जोखिम नबढेको देखाएकाले सुरक्षाको दृष्टिले न्यूजील्याण्ड ब्लड विश्वस्त भएको छ।

विस्तृत जोखिम मूल्याङ्कनपछि न्यूजील्याण्ड ब्लडले प्लाज्मा प्रशोधन गर्ने औषधि साझेदार संस्था CSL Behring सँग परामर्श गरेको छ। यस क्रममा नयाँ परीक्षण प्रणाली, उपकरण जडान तथा कर्मचारी तालिम आवश्यक रहेको जनाइएको छ।

यस नीतिगत परिवर्तनका लागि पूर्व एआईडीएस फाउन्डेसन तथा हालको बर्नेट फाउन्डेसनले लामो समयदेखि अभियान चलाउँदै आएको थियो। फाउन्डेसनका अनुसन्धान तथा नीतिगत अधिकारी पिट हानलले सुरक्षालाई प्राथमिकतामा राख्दै सही प्रक्रियाबाट अघि बढ्नु सकारात्मक रहेको बताएका छन्।

न्यूजील्याण्ड ब्लडले हालसम्म ठोस मिति तय नभए पनि २०२६ भित्रै नीति कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ। प्रारम्भिक लक्ष्य वर्षको पहिलो छमाही रहेको भए पनि केही प्रक्रिया बाँकी रहेकाले औपचारिक घोषणा हुन बाँकी रहेको जनाएको छ।