ज्युरिख । अमेरिका र इरानबीच हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौता समारोह अन्तिम समयमा स्थगित भएको छ। शुक्रबार स्वीट्जरल्यान्डमा आयोजना गर्ने तयारी गरिएको औपचारिक हस्ताक्षर कार्यक्रम अनिश्चितकालका लागि रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

‘सीएनएन–न्युज १८’ का अनुसार समारोहमा सहभागी हुन कुनै पनि उच्चस्तरीय अमेरिकी वा इरानी अधिकारी स्वीट्जरल्यान्ड नजाने निर्णय भएपछि कार्यक्रम स्थगित गरिएको हो। कूटनीतिक स्रोतहरूका अनुसार प्रक्रिया अहिले औपचारिक हस्ताक्षरको चरणबाट हटेर विस्तृत प्राविधिक वार्तातर्फ मोडिएको छ।

हाल अमेरिका, इरान, कतार र पाकिस्तानका प्रतिनिधि टोलीहरू स्वीट्जरल्यान्डका ब्युर्गेनस्टक र ज्युरिखमा रहँदै नयाँ वार्ता संरचना तयार पार्न सक्रिय छन्। स्रोतहरूका अनुसार सम्झौतामा बाँकी रहेका जटिल र प्राविधिक विषयमा सहमति जुटाउन आगामी ६० दिनसम्म विभिन्न चरणमा वार्ता सञ्चालन गरिनेछ।

ती वार्ताहरूमा सुरक्षा, कार्यान्वयन प्रक्रिया तथा अन्य संवेदनशील विषयमा सहमति खोजिने बताइएको छ। सम्झौताका सूक्ष्म पक्षहरू टुंग्याएपछि मात्र औपचारिक हस्ताक्षरको नयाँ मिति तय हुन सक्ने कूटनीतिक वृत्तको भनाइ छ।

यसबीच, शान्ति सम्झौताको तयारीमा आएको अप्रत्याशित परिवर्तनले पाकिस्तानको कूटनीतिक कार्यक्रमलाई समेत प्रभावित पारेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले आफ्नो निर्धारित स्वीट्जरल्यान्ड भ्रमण रद्द गरेका छन्।

समाचारअनुसार समझदारीपत्र (एमओयू) सम्बन्धी मुख्य एजेन्डाहरू सफलतापूर्वक पूरा भइसकेको र तत्काल उच्चस्तरीय राजनीतिक उपस्थितिको आवश्यकता नरहेको निष्कर्षपछि भ्रमण स्थगित गरिएको हो।

यद्यपि औपचारिक सम्झौता समारोह रोकिए पनि अमेरिका र इरानबीच संवाद प्रक्रिया जारी रहेकाले दुवै देशबीच दीर्घकालीन शान्ति तथा स्थायित्वको प्रयास भने अघि बढिरहेको विश्लेषकहरूले बताएका छन्।