काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारमा सरकारले पर्याप्त गम्भीरता नदेखाएको आरोप लगाउनुभएको छ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै शाहीले बाढी र लेदोले प्रभावित सुरुङभित्र प्रवेश गरी फसेकाहरूको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग माग गर्नुभयो। उहाँका अनुसार बाढी प्रभावित पाँचवटा सुरुङमा अझै प्रभावकारी उद्धार कार्य सुरु हुन सकेको छैन।

शाहीले जलविद्युत् विज्ञहरूसँग समयमै समन्वय र परामर्श गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो। सुरुङमा जमेको लेदो हटाउने प्रविधि वा मेसिन नभएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति पनि उहाँले असन्तुष्टि जनाउनुभयो।

उहाँले नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताउँदै उद्धारका लागि आवश्यक बजेट र स्रोत परिचालन गर्ने जिम्मेवारी सरकारकै भएको उल्लेख गर्नुभयो। साथै, सुरुङमा फसेका आफ्ना परिवारजनको खोजीको माग गर्ने पीडितमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज र दुर्व्यवहार भएको भन्दै त्यसप्रति पनि आपत्ति जनाउनुभयो।

शाहीले राजनीतिक विवादभन्दा माथि उठेर बाढीपीडित र सुरुङमा फसेका नागरिकको जीवन बचाउन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो।