अकल्याण्ड । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएकाहरूको सम्झना, बेपत्ता तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता र शीघ्र उद्धार तथा राहतको कामनासहित न्युजिल्याण्डका तीन प्रमुख शहरमा क्यान्डललाइट भिजिल आयोजना गरिएको छ।
न्युजिल्याण्डमा रहेका नेपाली समुदायले नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारलाई साथ र समर्थन जनाउन अकल्याण्ड, ह्यामिल्टन र क्राइस्टचर्चमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका हुन्।
अकल्याण्डमा न्युजिल्याण्ड नेपाल सोसाइटीको आयोजनामा शनिबार साँझ सिटीस्थित आओटिया स्क्वायरमा क्यान्डललाइट भिजिल आयोजना गरिएको थियो। निरन्तर वर्षाका बीच छाता ओढेर तथा पालमुनि मैनबत्ती बाल्दै करिब ४० जना सहभागीले नेपालमा ज्यान गुमाएकाहरूको सम्झना गरेका थिए।
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवार र समुदायप्रति ऐक्यबद्धता जनाउने, ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा राहत र उद्धारका लागि सहयोग जुटाउन समुदायलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
रसुवाको दुर्गम क्षेत्रमा आएको आकस्मिक बाढीपछि पाँच जना न्युजिल्याण्डका नागरिक अझै बेपत्ता रहेका छन्। परिवार तथा साथीभाइले बेपत्ता भएकाहरूको नाम श्वेता म्हात्रे, मिहिर पटेल, किन्नरी पटेल, सुहासिनी रेड्डी र देजान कुज्मिक रहेको बताएका छन्। उनीहरूको खोजी तथा उद्धारको प्रयास जारी रहेको छ।
अकल्याण्डको कार्यक्रममा इथनिक कम्युनिटिज मन्त्री मार्क मिचेल, सांसद कार्लोस चुङ्ग, विभिन्न समुदायका प्रतिनिधि तथा नेपाली समुदायका सदस्यहरूको सहभागिता थियो। सहभागीहरूले मैनबत्ती बाल्दै बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मिचेलले कठिन परिस्थितिमा रहेका नेपाली समुदायसँग न्युजिल्याण्ड सरकार र जनता साथमा रहेको बताए। अझै आफ्ना परिवारका सदस्य तथा आफन्तको खोजीमा रहेका परिवारलाई आशा नछाड्न आग्रह गर्दै उनले भने, “मैनबत्ती बलिरहन दिनुहोस्, आशा नछाड्नुहोस्।” आपत्कालीन व्यवस्थापन तथा पुनःस्थापना मन्त्रीको हैसियतमा मिचेलले न्युजिल्याण्ड नेपालमा भइरहेको उद्धार तथा पुनःस्थापना प्रयासमा सहयोग गर्न तयार रहेको बताए।
उनले नेपाली समुदायलाई सम्बोधन गर्दै भने, “हामी तपाईंहरूको साथमा काँधमा काँध मिलाएर उभिएका छौँ। हामी तपाईंहरूको पीडा बुझ्छौँ र सकेसम्म तपाईंहरूको केही बोझ बाँड्ने प्रयास गर्नेछौँ।”
कार्यक्रममा न्युजिल्याण्ड नेपाल सोसाइटीका अध्यक्ष रोशन खड्काले नेपालमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको जनधनको क्षतिबारे जानकारी गराएका थिए। उनले नेपाल सरकारले राहत तथा उद्धारका लागि उपलब्ध गराएको बैंक खाता र क्यूआर कोडमार्फत सहयोग गर्न सबैलाई अपिल गरे।
नेपालका लागि अकल्याण्डका पूर्व मानार्थ वाणिज्यदूत दिनेश खड्काले पनि प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्न आग्रह गर्दै सहयोग गर्न सक्ने व्यक्तिहरूलाई राहत तथा उद्धारका लागि योगदान गर्न अपिल गरेका थिए।
कार्यक्रममा सहभागीहरूले मृतक तथा बेपत्ता भएकाहरूको सम्झनामा मौनधारण गरेका थिए। कार्यक्रमको अन्त्यमा सहभागीहरूले आफ्ना भावना व्यक्त गर्दै नेपाली गीतमार्फत पीडितप्रति श्रद्धाञ्जली र ऐक्यबद्धता प्रकट गरेका थिए।
ह्यामिल्टन र क्राइस्टचर्चमा पनि ऐक्यबद्धता
अकल्याण्डपछि नेपाल न्युजिल्याण्ड वाइकाटो फ्रेन्डसिप सोसाइटीको आयोजनामा ह्यामिल्टन सेन्ट्रलस्थित गार्डेन प्लेसमा पनि क्यान्डललाइट भिजिल आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली समुदायसँगै अन्य समुदायका नागरिकको सहभागिता रहेको थियो। सहभागीहरूले मैनबत्ती बालेर नेपालमा बाढी तथा पहिरोबाट ज्यान गुमाएकाहरूको सम्झना गर्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएका थिए।
त्यस्तै, नेपाल न्युजिल्याण्ड फ्रेन्डसिप सोसाइटी अफ क्यान्टरबरी इन्कको आयोजनामा क्राइस्टचर्चस्थित ल्याटिमर स्क्वायरमा पनि क्यान्डललाइट भिजिल आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली समुदायका साथै स्थानीय समुदायका नागरिकको समेत सहभागिता रहेको थियो।
सहभागीहरूले नेपालमा प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएकाहरूको सम्झना गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायको पीडामा आफूहरू साथमा रहेको सन्देश दिएका थिए। न्युजिल्याण्डका विभिन्न शहरमा आयोजना गरिएका यी क्यान्डललाइट भिजिलले नेपालमा आएको विपत्तिप्रति विदेशमा रहेका नेपाली समुदायको गहिरो संवेदना, एकता र मानवीय सहयोगको भावना उजागर गरेको छ। साथै, नेपाली समुदायसँगै न्युजिल्याण्डका विभिन्न समुदायले पनि पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै कठिन समयमा नेपालसँगै रहेको सन्देश दिएका छन्।




