काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा विश्व कीर्तिमानी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।
एनआरएनएका प्रवक्ता सोम सापकोटाले शनिबार जारी गरेको विज्ञप्तिमा पुर्जाको निधनले नेपाली पर्वतारोहण तथा गैरआवासीय नेपाली समुदायमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेको स्मरण गरिएको छ।
एनआरएनएले पुर्जालाई नेपालका मात्र नभई विश्वभर रहेका गैरआवासीय नेपालीका लागि गौरव र प्रेरणाका स्रोतका रूपमा उल्लेख गरेको छ। गैरआवासीय नेपालीका रूपमा उनले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको साहस, क्षमता र पहिचानलाई विश्वसामु स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको संघको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, “निर्मल ‘निम्सदाइ’ पुर्जाको असामयिक निधनसँगै गैरआवासीय नेपाली समुदायले एक असाधारण अभियन्ता, प्रेरणादायी व्यक्तित्व तथा विश्वमञ्चमा नेपालीको साहस र क्षमताको परिचय गराउने अमूल्य धरोहर गुमाएको छ।”
एनआरएनएले पुर्जाको ‘असम्भवलाई सम्भव बनाउने’ सोच, अदम्य साहस, दृढ संकल्प र समर्पण नेपालीका लागि सदैव प्रेरणाको स्रोत रहने जनाएको छ।
पुर्जाले पर्वतारोहणमार्फत नेपालको नाम विश्वभर चिनाउन पुर्याएको योगदान तथा राष्ट्रप्रतिको समर्पण नेपाली समुदायको स्मृतिमा सधैँ जीवित रहने संघले जनाएको छ।
