अकल्याण्ड – न्युजिल्याण्डमा बेरोजगारी दर करिब ११ वर्षयताकै उच्च स्तरमा पुगेको छ। कमजोर अर्थतन्त्र, व्यवसायिक अनिश्चितता र श्रम बजारमा नयाँ रोजगारी सिर्जनाको सुस्त गतिका कारण सन् २०२६ को दोस्रो त्रैमासिकमा बेरोजगारी दर ५.४ प्रतिशतबाट बढेर ५.६ प्रतिशत पुगेको हो। यो सन् २०१५ पछिकै सबैभन्दा उच्च बेरोजगारी दर भएको स्ट्याट्स न्युजिल्याण्ड (ले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

तथ्यांकअनुसार हाल देशभर १ लाख ७१ हजार न्युजिल्याण्डवासी बेरोजगार छन्। यो संख्या अघिल्लो त्रैमासिकको तुलनामा ७ हजार र एक वर्षअघिको तुलनामा १३ हजार ले बढी हो। सार्वजनिक भएको तथ्यांक न्युजिल्याण्ड रिजर्भ बैंक तथा अधिकांश अर्थशास्त्रीहरूले गरेको अनुमानभन्दा पनि खराब देखिएको छ।

दोस्रो त्रैमासिकमा देशमा करिब ५ हजार नयाँ रोजगारी सिर्जना भए पनि सोही अवधिमा २१ हजार नयाँ व्यक्ति श्रम बजारमा प्रवेश गरेका कारण बेरोजगारी बढेको हो। यद्यपि एक वर्षको अवधिमा रोजगारीमा रहेका व्यक्तिको संख्या ३३ हजार ले बढेको तथ्यांकले देखाएको छ।

बेरोजगारसँगै पर्याप्त समय काम नपाएका वा आफ्नो क्षमता अनुसार रोजगारी नपाएका व्यक्तिहरूलाई समेट्ने अन्डरयुटिलाइजेसन दर पनि बढेर १३.८ प्रतिशत पुगेको छ, जुन पछिल्लो १२ वर्षयताकै उच्च स्तर हो। यसले श्रम बजारमा अझै ठूलो दबाब रहेको संकेत गरेको छ।

एक वर्ष वा सोभन्दा बढी समयदेखि रोजगारीविहीन रहेका व्यक्तिको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ। स्ट्याट्स न्युजिल्याण्डकी श्रम तथ्यांक प्रवक्ता एबी जोन्स्टनका अनुसार सन् २०२५ को सोही अवधिको तुलनामा दीर्घकालीन बेरोजगारको संख्या करिब ८ हजारले बढेको छ। हाल कुल बेरोजगारमध्ये करिब १९ प्रतिशत एक वर्षभन्दा बढी समयदेखि कामविहीन रहेका छन्।

युवामाझ बेरोजगारीको अवस्था पनि थप चुनौतीपूर्ण बनेको छ। १५ देखि २४ वर्ष उमेर समूहका रोजगार, शिक्षा वा तालिममा नरहेका युवाको अनुपात १२.९ प्रतिशतबाट बढेर १३.८ प्रतिशत पुगेको छ।

क्षेत्रगत रूपमा हेर्दा नर्थल्यान्ड र अकल्याण्ड सबैभन्दा बढी प्रभावित बनेका छन्, जहाँ बेरोजगारी दर ६ प्रतिशतभन्दा माथि पुगेको छ। यसको विपरीत दक्षिण टापुका सबै क्षेत्रमा बेरोजगारी दर ५ प्रतिशतभन्दा कम रहेको छ।

यसैबीच, श्रमिकहरूको आय वृद्धिदर पनि सुस्त बनेको छ। वार्षिक औसत तलब वृद्धि २ प्रतिशत मा सीमित भएको छ, जुन पछिल्लो पाँच वर्षयताकै न्यून हो। उता उपभोक्ता मूल्य सूचकांकअनुसार महँगी भने ४.१ प्रतिशत ले बढेकाले अधिकांश श्रमिकको वास्तविक क्रयशक्ति घटेको देखिएको छ। वैकल्पिक तलब सूचकांकअनुसार औसत प्रतिघण्टा ज्याला १.१ प्रतिशत ले बढे पनि काम गर्ने औसत घण्टा घटेको छ।

वित्तमन्त्री निकोला विलिसले पछिल्ला तीन महिना व्यवसायका लागि निकै कठिन रहेको स्वीकार गर्दै बढ्दो लागत र आर्थिक अनिश्चितताले धेरै रोजगारदातालाई नयाँ कर्मचारी भर्ना गर्न निरुत्साहित गरेको बताइन्। उनले सरकारले पर्यटन, अन्तर्राष्ट्रिय शिक्षा, ठूला पूर्वाधार आयोजना तथा निजी लगानीलाई प्रोत्साहन गरेर व्यवसायिक विश्वास पुनःस्थापित गर्ने र रोजगारी सिर्जना गर्ने प्रयास गरिरहेको बताइन्। उनका अनुसार यी कार्यक्रम तत्काल परिणाम दिनेभन्दा पनि दीर्घकालीन आर्थिक पुनरुत्थानका लागि केन्द्रित छन्।

अर्थशास्त्रीहरूले भने श्रम बजार अझै कमजोर रहे पनि केही सकारात्मक संकेत देखिन थालेको बताएका छन्। वेस्टप्याकका वरिष्ठ अर्थशास्त्री माइकल गोर्डनले बेरोजगारी अपेक्षाभन्दा बढी बढेको र यसले अर्थतन्त्रको सुस्त अवस्थालाई प्रतिबिम्बित गरेको बताए। एएसबी बैंकका अर्थशास्त्री वेस्ली तानुभासाले श्रम आपूर्ति र रोजगारी दुवै बढ्नु अर्थतन्त्र विस्तारतर्फ अघि बढेको संकेत भए पनि अमेरिका–इरान द्वन्द्वका कारण सिर्जिएको अन्तर्राष्ट्रिय अनिश्चितताले त्यसमा असर पारेको बताए। एएनजेड बैंकका अर्थशास्त्री म्याथ्यु गाल्टले हालको कमजोरी अस्थायी हुन सक्ने र वर्षको दोस्रो छमाहीदेखि श्रम बजारमा क्रमिक सुधार आउने अपेक्षा व्यक्त गरेका छन्।