काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीसहित विभिन्न जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थाको समाधान, नागरिकको जिउधनको सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालित भइसकेको भन्दै नागरिकलाई अफवाहको पछि नलाग्न र संयमता अपनाउन आग्रह गरे।

प्रधानमन्त्री शाहका अनुसार सरकारको पहिलो प्राथमिकता प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नु, नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु तथा घटनाको निष्पक्ष छानबिन सुनिश्चित गर्नु हो। उनले शान्ति–सुरक्षा व्यवस्था प्रभावकारी बनाउन र तनाव थप फैलिन नदिन सुरक्षा, राजनीतिक संवाद र समुदायबीचको सहकार्यलाई समानान्तर रूपमा अघि बढाइएको जानकारी दिए।

छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा तत्काल पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्न आग्रह गरे। उनले सांसदहरू जनप्रतिनिधि मात्र नभई संकटका बेला राज्य र नागरिकबीच विश्वासको पुल बन्नुपर्ने उल्लेख गर्दै कठिन परिस्थितिमा जनताको साथमा उभिनु नै जनप्रतिनिधिको सबैभन्दा ठूलो जिम्मेवारी भएको बताए।

“यस्तो बेला जनतामा विश्वास जगाउनु, उनीहरूको गुनासो सुन्नु र सामाजिक सद्भाव कायम राख्न भूमिका खेल्नु आवश्यक छ,” प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको आग्रहपछि रास्वपाका सांसदहरूले तत्कालै आ–आफ्ना निर्वाचन क्षेत्रमा फर्किएर स्थानीय नागरिकसँग संवाद गर्ने र शान्ति तथा सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

सांसदहरूले बिहीबार प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गरेको सम्बोधनले विशेषगरी प्रभावित क्षेत्रका नागरिकमा सकारात्मक सन्देश, विश्वास र भरोसा सिर्जना गरेको धारणा पनि राखेका थिए।

छलफलमा सहभागी सांसदहरूले दीर्घकालीन रूपमा सामाजिक सद्भाव कायम राख्न स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज, बुद्धिजीवी, समुदायका अगुवा तथा राजनीतिक दलका प्रतिनिधिसँग निरन्तर संवाद अघि बढाउन सरकारलाई सुझाव दिएका छन्।

उनीहरूले तनाव प्रभावित तथा आसपासका क्षेत्रमा धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी विश्वास बलियो बनाउने सन्देश निरन्तर प्रवाह गर्नुपर्नेमा जोड दिएका छन्। साथै सामाजिक सञ्जालमार्फत फैलिने भ्रम, अफवाह र भ्रामक सूचनाबाट विशेषगरी युवालाई जोगाउन स्थानीय स्तरमै जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

सरकारले पछिल्लो अवस्थालाई संवेदनशील रूपमा लिँदै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउनुका साथै राजनीतिक तथा सामाजिक संवादलाई निरन्तरता दिएर देशभर शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्ने प्रयास जारी राखेको जनाएको छ।