अकल्यान्ड। न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्सले ग्रीन पार्टीका सांसद लरेन्स सु–नानप्रति गरेको टिप्पणीलाई “जातिवादी”, “अत्यन्त आपत्तिजनक” र “अनुचित” भनेका छन्। तर उनले पिटर्सप्रति आफ्नो विश्वास कायम रहेको भन्दै विदेशमन्त्री पदबाट हटाउने निर्णय नगर्ने बताएका छन्।

तौराङ्गामा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री लक्सनले चिनियाँ मूलका न्युजिल्याण्ड नागरिक तथा ग्रीन सांसद लरेन्स सु–नान पूर्ण रूपमा समान अधिकार भएका किवी नागरिक भएको बताए।

“उनी विन्स्टिन पिटर्सजत्तिकै न्युजिल्याण्डका नागरिक हुन् र संसदमा आफ्नो धारणा राख्ने समान अधिकार राख्छन्,” लक्सनले भने।

पिटर्सले बुधबार संसदमा भएको बहसका क्रममा सु–नानसँग भएको विवादपछि उनलाई “आफ्नो देश फर्कन” भनेका थिए। उक्त टिप्पणीपछि संसदभित्र र बाहिर व्यापक आलोचना भएको थियो।

प्रधानमन्त्री लक्सनले पिटर्सको अभिव्यक्ति योजनाबद्ध भएको आरोप लगाए। उनले पिटर्स लामो समयदेखि राजनीतिमा रहेको र मिडियाको ध्यान आकर्षित गर्न विवादास्पद भाषा प्रयोग गर्ने गरेको बताए।

“उहाँ ४० वर्षभन्दा बढी समयदेखि राजनीतिमा हुनुहुन्छ। उहाँले प्रयोग गर्ने भाषा ध्यान आकर्षित गर्ने उद्देश्यले गरिएको हुन्छ,” लक्सनले भने। तर, आलोचनाका बाबजुद लक्सनले पिटर्सलाई विदेशमन्त्रीको जिम्मेवारीमा राख्ने स्पष्ट पारे। “उहाँ विदेशमन्त्रीका रूपमा सफल हुनुभएको छ र म उहाँमाथि विश्वास राख्छु,” लक्सनले भने।


विपक्षी दलको पदबाट हटाउन माग

पिटर्सको टिप्पणीपछि विपक्षी दलहरूले उनलाई विदेशमन्त्री पदबाट हटाउन प्रधानमन्त्रीसँग माग गरेका छन्। पूर्वप्रधानमन्त्री हेलेन क्लार्क र पूर्वनेसनल नेता डन ब्रासले समेत पिटर्सको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कारबाहीको आवश्यकता औंल्याएका छन्। ग्रीन पार्टीले पिटर्सको टिप्पणी आप्रवासी समुदायलाई लक्षित गर्ने किसिमको भएको आरोप लगाएको छ। सांसद लरेन्स सु–नानले आफूलाई लक्षित गरेर गरिएको टिप्पणीले आप्रवासी समुदायलाई दोषारोपण गर्ने प्रयास भएको बताएका छन्।


चीनसँगको सम्बन्धमा असर नपर्ने लक्सनको दाबी

पिटर्सको टिप्पणीपछि चीन–न्युजिल्याण्ड सम्बन्धमा असर पर्ने चिन्ता उठे पनि प्रधानमन्त्री लक्सनले द्विपक्षीय सम्बन्ध बलियो रहेको बताएका छन्। उनले पिटर्स र चिनियाँ राजदूतबीच विगतमा पनि पटक–पटक मतभेद भएको उल्लेख गर्दै यसले दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई कमजोर नबनाउने बताए। यसैबीच चिनियाँ पक्षले पिटर्सको टिप्पणीप्रति कूटनीतिक आपत्ति जनाएको छ। चिनियाँ दूतावासले नकारात्मक चीनसम्बन्धी अभिव्यक्तिबारे न्युजिल्याण्ड पक्षसमक्ष औपचारिक चासो राखेको जनाएको छ।


निर्वाचनअघि आप्रवासन बहस चर्किँदै

लक्सनले यो विषयलाई आगामी निर्वाचनसँग पनि जोडेका छन्। उनले देश निर्वाचन अभियानको चरणमा प्रवेश गरिरहेको भन्दै मतदातालाई आफ्नो निर्णय सोचेर गर्न आग्रह गरे। उनले आप्रवासीहरूले न्युजिल्याण्डको विकासमा महत्वपूर्ण योगदान दिएको बताए। “धेरै आप्रवासीहरूले सबै कुरा छोडेर यहाँ आए, कडा मेहनत गरे, व्यवसाय सुरु गरे, परिवार बनाए र देशमा योगदान दिए,” लक्सनले भने। उनले कानुनी प्रक्रियाबाट आउने आप्रवासी न्युजिल्याण्डका लागि सकारात्मक शक्ति भएको दाबी गरे।


राजनीतिक विवाद थप चर्किने संकेत

विन्स्टन पिटर्सको टिप्पणीले आगामी निर्वाचनअघि आप्रवासन, जातीय सम्बन्ध र विदेश नीतिसम्बन्धी बहसलाई थप चर्काउने संकेत देखिएको छ। प्रधानमन्त्री लक्सनले टिप्पणीलाई गलत भने पनि पिटर्सलाई जिम्मेवारीबाट नहटाउने निर्णयले सत्तारुढ गठबन्धनभित्रको राजनीतिक सन्तुलनबारे पनि प्रश्न उठाएको छ। अबको बहस केवल एउटा टिप्पणीमा सीमित रहने छैन। यो विषय न्युजिल्याण्डको बहुसांस्कृतिक समाज, आप्रवासीप्रतिको दृष्टिकोण र राजनीतिक नेतृत्वको जिम्मेवारीसँग जोडिएको ठूलो बहस बन्ने देखिएको छ।