अकल्याण्ड। न्युजिल्याण्डको नर्थ आइल्याण्डमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्प स्थानीय समयअनुसार बिहान ४ः५१ बजे ताउमारुनुई (Taumarunui) को दक्षिणपश्चिमतर्फ करिब पाँच किलोमिटर दूरीमा केन्द्रबिन्दु बनाएर गएको थियो।

जियोनेट (GeoNet) का अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ९ किलोमिटर गहिराइमा रहेको थियो र यसको तीव्रता ‘गम्भीर’ (Severe) श्रेणीको थियो।

यो भूकम्प अकल्याण्डसहित नर्थ आइल्याण्डको अधिकांश क्षेत्रमा महसुस गरिएको थियो भने यसको कम्पन दक्षिण आइल्याण्डको उत्तरी भागसम्म अनुभव गरिएको थियो। बिहान ६ बजेसम्म जियोनेटमा करिब २३ हजार जनाले भूकम्प महसुस गरेको जानकारी दर्ता गराएका थिए।

  • ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प आज बिहान ४:५१ बजे मनावातु–वाङ्गानुई क्षेत्रमा गएको।
  • केन्द्रबिन्दु: ताउमारुनुईबाट ५ किलोमिटर दक्षिण,
  • ९ किलोमिटर गहिराइमाजियोनेटले ‘Severe’ (गम्भीर) श्रेणीमा वर्गीकृत गरेको।
  • अकल्याण्डदेखि दक्षिण टापुको उत्तरी भागसम्म भूकम्पको धक्का महसुस, केहीले ड्युनेडिनसम्म पनि कम्पन महसुस गरेको जानकारी।
  • करिब २३ हजार जनाले जियोनेटमा भूकम्प महसुस गरेको विवरण दर्ता गरेका।
  • सडकमा सामान्य पहिरो (Minor slips) खसेको रिपोर्ट, चालकलाई सावधानी अपनाउन आग्रह।
  • आपतकालीन सेवा र सडक मर्मत टोली ले क्षतिको मूल्याङ्कन गरिरहेका।
  • मुख्य भूकम्पपछि ७३ वटा पराकम्प रेकर्ड, जसमध्ये ११ वटा ‘Weak and above’ श्रेणीका रहेका छन्।

भूकम्पपछि २.२ देखि ३.७ म्याग्निच्युड सम्मका दर्जनौँ परकम्प (Aftershocks) पनि रेकर्ड भएका छन्। न्युजिल्याण्ड अर्थ साइन्सका ड्युटी भूकम्पविद् स्याम टेलर–अफोर्ड का अनुसार प्रारम्भिक तीन घण्टामै ५० भन्दा बढी परकम्प मापन गरिएको छ। उनका अनुसार परकम्प एक सातासम्म वा सोभन्दा बढी समयसम्म पनि जारी रहन सक्छन्, यद्यपि ती क्रमशः कमजोर हुँदै जाने अपेक्षा छ।

टेलर–अफोर्डका अनुसार यो स्थानमा अभिलेख राख्न थालिएयता पहिलो पटक यस्तो भूकम्प रेकर्ड भएको हो । उनले यस क्षेत्रमा ठूलो भूकम्प दुर्लभ भए पनि असम्भव भने नभएको बताए।

भूकम्पका कारण हालसम्म कुनै मानवीय क्षतिको खबर प्राप्त भएको छैन। फायर एण्ड इमर्जेन्सी न्युजिल्याण्ड (FENZ) ले भूकम्पसँग सम्बन्धित कुनै आपत्कालीन उद्धारका लागि बोलावट नआएको जनाएको छ।

यद्यपि, रुआपेहु जिल्लाका मेयर वेस्टन किर्टन ले ताउमारुनुई क्षेत्रमा केही सामान्य क्षति भएको जानकारी दिएका छन्। उनका अनुसार एक–दुई वटा व्यावसायिक भवनका सिसा फुटेका छन् भने केही स्थानमा सडकमा सामान्य पहिरो जाँदा आवागमनमा पनि अस्थायी अवरोध भएको थियो।

मेयर किर्टन, जसको घर भूकम्पको केन्द्रबिन्दुबाट करिब तीन किलोमिटर दक्षिणमा रहेको छ, ले यो आफ्नो जीवनकै सबैभन्दा ठूलो भूकम्प भएको बताएका छन्। उनले केही सेकेन्डसम्म घरका बत्ती र सामानहरू तीव्र रूपमा हल्लिएको र क्षणभरका लागि अवस्था निकै त्रासपूर्ण बनेको अनुभव सुनाएका छन्।

मनावातु–व्हाङ्गानुई आपत्कालीन व्यवस्थापन समूह ले साना पहिरो खसेको जानकारी दिँदै चालकहरूलाई सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ। समूहले बिहानभर परकम्प आउने सम्भावना रहेकाले भूकम्प महसुस भएमा ‘ड्रप, कभर एन्ड होल्ड’ (भुइँमा बस्ने, सुरक्षित स्थानमा टाउको छोप्ने र बलियो वस्तु समातेर बस्ने) सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ।

ताउमारुनुईस्थित एक पुनःप्रयोग सामग्री बिक्री केन्द्रमा पनि भूकम्पका कारण केही सिसाका सामग्री र फूलदानी फुटेका छन्। पसलका कर्मचारीका अनुसार करिब १० वटा फूलदानी नष्ट भए पनि समग्र क्षति सामान्य रहेको छ।

अधिकारीहरूले परकम्प जारी रहने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन तथा आधिकारिक निकायले जारी गर्ने सूचनालाई पछ्याउन आग्रह गरेका छन्।