अकल्याण्ड। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय संरचनामा न्युजिल्याण्डबाट तीन नेपाली प्रतिनिधिले महत्वपूर्ण जिम्मेवारी पाएका छन्। न्युजिल्याण्डबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) मा नियुक्त हुनेहरूमा न्युजिल्याण्डका लागि नेपालका पूर्व अवैतनिक वाणिज्यदूत आत्माराम खनाल, एनआरएनए न्युजिल्याण्डका पूर्व महासचिव दयानिधि गौतम तथा एनआरएनए न्युजिल्याण्डका पूर्व कोषाध्यक्ष विपन भण्डारी रहेका छन्।

एनआरएनएका अनुसार खनाललाई अन्तर्राष्ट्रिय समन्वय परिषद् (International Coordination Council–ICC) सदस्य, गौतमलाई ओसियानिया डेपुटी रिजनल कोअर्डिनेटर (Deputy Regional Coordinator–DRC) र भण्डारीलाई आईसीसी युथ कोअर्डिनेटर (ICC Youth Coordinator) मा मनोनयन गरिएको हो।

हिमालपारी मिडियासँग कुरा गर्दै अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का नवनियुक्त सदस्य खनालले गैरआवासीय नेपालीहरूले भोग्दै आएका विविध समस्याको पहिचान गरी तिनलाई एकीकृत रूपमा केन्द्रसम्म पुर्‍याउने र समाधानका लागि पहल गर्ने बताए। साथै, विदेशको लगानी नेपालमा भित्र्याउन तथा विदेशमा आर्जित सीप र अनुभवलाई नेपालसम्म पुर्‍याउन आफूले सक्रिय भूमिका खेल्ने उनले बताए। खनालले आफ्नो कार्यकालमा प्रवासमा रहेका नेपालीहरूको बृहत्तर हितसँग सम्बन्धित मुद्दालाई केन्द्रमा राखेर सोहीअनुसार योजना अघि बढाउने पनि बताए।

त्यसैगरी, ओसियानिया डेपुटी रिजनल कोअर्डिनेटरमा नियुक्त गौतमले यस क्षेत्रमा रहेका नेपाली समुदायबीच देखिएका दूरीलाई कम गर्दै समन्वय र सहकार्यको पुल निर्माण गर्ने आफ्नो प्राथमिकता रहने बताए। उनले भने, “यस क्षेत्रमा रहेका नेपाली समुदाय तथा विभिन्न संघ–संस्थासँग समन्वय गर्दै यहाँका मुद्दालाई केन्द्रसम्म पुर्‍याई समाधानका लागि पहल गर्नु नै मेरो प्रमुख लक्ष्य हुनेछ।”

यसैबीच, एनआरएनए न्युजिल्याण्डले सामाजिक सञ्जालमार्फत तीनै जनालाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको नियुक्तिलाई न्युजिल्याण्डस्थित नेपाली समुदायका लागि गर्वको विषय भएको जनाएको छ। संस्थाले उनीहरूको समर्पण, नेतृत्व क्षमता, अनुभव तथा विश्वभर रहेका नेपाली समुदायको सेवाप्रतिको प्रतिबद्धताको कदरस्वरूप यो जिम्मेवारी प्रदान गरिएको उल्लेख गरेको छ।

एनआरएनए न्युजिल्याण्डले उनीहरूको नेतृत्व र अनुभवले अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा सम्बन्धित समितिहरूको कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ। साथै, उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा न्युजिल्याण्डस्थित नेपाली समुदायको प्रतिनिधित्व गर्दै विश्वभरका नेपालीहरूको हित, एकता र संस्थाको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

शुभकामना सन्देशमा संस्थाले तीनै पदाधिकारीलाई नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना व्यक्त गर्दै उनीहरूको कार्यकाल उपलब्धिमूलक, प्रभावकारी र सफल रहोस् भन्ने कामना गरेको छ। साथै, यी नियुक्तिले न्युजिल्याण्डस्थित नेपाली समुदायको अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व र सहभागितालाई थप सशक्त बनाउने विश्वाससमेत व्यक्त गरिएको छ।