अकल्याण्ड। नेपाली गायक तथा गीतकार सुजन चापागाईंको बहुप्रतीक्षित सांगीतिक प्रस्तुति सोमबार साँझ अकल्याण्डमा सम्पन्न भएको छ। अकल्याण्डस्थित स्टुडियो द भेन्युमा आयोजित सांगीतिक कार्यक्रममा अकल्याण्ड र आसपासमा बसोबास गर्दै आएका नेपालीहरूको रमाइलो सहभागिता रहेको थियो।

लाखे इभेन्ट्सले आयोजना गरेको कार्यक्रममा गायक चापागाईं र द इन्फिनिटी ब्यान्डले सशक्त प्रस्तुति दिएका थिए। कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरू ‘फूलथुङ्गा’, ‘गाला पुक्क’, ‘घुमी घुमी’, ‘कुरा’, ‘लजाएर’ लगायतका लोकप्रिय सिर्जनाहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमको आयोजक लाखे इभेन्ट्सले कार्यक्रम सफल बनाउन उपस्थित सम्पूर्ण दर्शकप्रति आभार व्यक्त गर्दै अकल्याण्डको सांगीतिक साँझलाई अविस्मरणीय बनाइदिएको प्रतिक्रिया जनाएको छ।

आयोजकले सामाजिक सञ्जालमार्फत भनेको छ, अकल्याण्डमा सुजन चापागाईं एन्ड द इन्फिनिटी ब्यान्डको प्रत्यक्ष प्रस्तुति अविस्मरणीय बनाउन उपस्थित हुने सम्पूर्ण दर्शकप्रति हार्दिक धन्यवाद। तपाईंहरूको माया, ऊर्जा र साथले यो कार्यक्रमलाई विशेष बनायो। कार्यक्रमलाई भव्य सफल बनाउन योगदान पुर्‍याउने प्रत्येकप्रति हामी कृतज्ञ छौँ।”

पछिल्ला केही वर्षयता सुजन चापागाईं नेपाली संगीत क्षेत्रमा सबैभन्दा लोकप्रिय गायकमध्ये एकका रूपमा स्थापित भएका छन्। उनका मौलिक शब्द, सुमधुर स्वर र जीवन्त प्रस्तुतिका कारण नेपालसँगै विदेशमा रहेका नेपालीमाझ पनि उनको विशेष लोकप्रियता रहेको छ।

सुजन चापागाईंको न्युजिल्याण्ड सांगीतिक यात्रा अझै जारी रहनेछ। उनले बुधबार साँझ क्राइष्टचर्चमा पनि प्रत्यक्ष प्रस्तुति दिने कार्यक्रम रहेको छ।