अकल्याण्ड। पछिल्ला केही वर्षयता न्युजिल्याण्डमा नेपाली समुदाय तीव्र रूपमा विस्तार भइरहेको छ। अध्ययन, रोजगारी र स्थायी बसोबासका लागि आउने नेपालीको संख्या बढेसँगै यहाँ जन्मिने नेपाली मूलका बालबालिकाको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ। नयाँ परिवार थपिने क्रमसँगै नेपाली अभिभावकले न्युजिल्याण्डको बाल संरक्षणसम्बन्धी कानुन र अभिभावकीय जिम्मेवारी बुझ्नुपर्ने आवश्यकता पनि बढ्दै गएको छ।

नयाँ देशमा नयाँ जीवन सुरु गर्ने क्रममा अधिकांश अभिभावकको ध्यान रोजगारी, घरको ऋण, दैनिक खर्च र भविष्य निर्माणमा केन्द्रित हुन्छ। तर त्यही दौडधुपबीच धेरैले एउटा महत्वपूर्ण कुरा बिर्सन्छन्—न्युजिल्याण्डमा बच्चा हुर्काउनु भनेको केवल अभिभावकको जिम्मेवारी मात्र होइन, कानुनी दायित्व पनि हो।

नेपालमा सामान्य ठानिने कतिपय व्यवहार न्युजिल्याण्डमा भने कानुनी रूपमा स्वीकार्य हुँदैनन्। बच्चालाई केही समय घरमा एक्लै छोड्ने, कुटपिट गरेर अनुशासन सिकाउने वा निरन्तर गाली गर्ने जस्ता व्यवहारलाई यहाँ बालबालिकाप्रतिको बेवास्ता (Neglect) वा दुर्व्यवहार (Abuse) को रूपमा हेरिन सक्छ। त्यसैले “बच्चा हुर्काउने तरिका” मात्र होइन, “बच्चा हुर्काउने कानुन” पनि अभिभावकले बुझ्न जरुरी छ।

बच्चा जन्मिएपछि सरकारले के सुविधा दिन्छ?

न्युजिल्याण्डमा बच्चा जन्मिएपछि सरकारले अभिभावकलाई विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँछ। यदि बच्चा जन्मिनुअघि आमाले आवश्यक मापदण्डअनुसार रोजगारमा काम गरेकी छिन् भने उनी Paid Parental Leave अन्तर्गत निश्चित अवधिसम्म सरकारले उपलब्ध गराउने तलबसहितको बिदा पाउन सक्छिन्। त्यसपछि थप समयका लागि बेतलबी बिदा पनि लिन सकिन्छ, जसले आमाबाबुलाई नवजात शिशुको हेरचाह गर्न समय दिन्छ।

तर सबैले समान सुविधा पाउँदैनन्। यदि आमाले आवश्यक योग्यता पूरा गर्ने गरी काम गरेकी छैनन् भने तलबसहितको बिदा उपलब्ध नहुन सक्छ। यद्यपि परिवारको आर्थिक अवस्था कमजोर भएमा वा आय न्यून भएमा सरकारले विभिन्न सामाजिक सहायता कार्यक्रममार्फत साप्ताहिक आर्थिक सहयोग उपलब्ध गराउन सक्छ।

नेपाली परिवारको सबैभन्दा ठूलो चुनौती—काम कि बच्चाको हेरचाह?

न्युजिल्याण्डमा अधिकांश नेपाली परिवारमा श्रीमान्–श्रीमती दुवैले काम गर्छन्। बैंकको किस्ता, घरभाडा, बढ्दो महँगी र भविष्यको बचतले उनीहरूलाई निरन्तर काम गर्न बाध्य बनाउँछ। त्यसैले साना बच्चालाई चाइल्डकेयरमा राख्नु धेरै परिवारको रोजाइ होइन, आवश्यकता बनेको छ। तर अर्को चुनौती सुरु हुन्छ जब बच्चा पाँच वर्ष पुगेर विद्यालय जान थाल्छ। विद्यालय दिउँसो ३ बजेतिर सकिन्छ। तर आमाबाबुको काम बेलुका ५ वा ६ बजेसम्म हुन्छ।

अब प्रश्न उठ्छ—

“बच्चालाई घरमा एक्लै छोड्न मिल्छ?”

न्युजिल्याण्डको कानुनअनुसार १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई उचित हेरचाहको व्यवस्था नगरी घरमा वा अन्यत्र एक्लै छोड्न पाइँदैन।

धेरै नेपाली अभिभावकले “एक–दुई घण्टा मात्रै त हो” भनेर बच्चालाई घरमा छोड्ने सोच राख्न सक्छन्। तर यस्तो निर्णयले कानुनी समस्या निम्त्याउन सक्छ। बच्चाको उमेर, परिपक्वता, कति समय एक्लै छोडिएको थियो र वातावरण सुरक्षित थियो वा थिएन भन्ने आधारमा सम्बन्धित निकायले मूल्याङ्कन गर्छ। कानुन उल्लङ्घन भएको ठहरिएमा अभिभावकलाई २,००० न्युजिल्याण्ड डलरसम्म जरिवाना हुन सक्छ।

कुटपिट गरेर अनुशासन सिकाउने अभ्यास स्वीकार्य छैन

‘हाम्रो पालामा त यसरी नै हुर्कियौं’—तर यहाँ नियम फरक छन् । नेपालमा अनुशासनका लागि बच्चालाई चिमोट्ने, थप्पड हान्ने वा कडा गाली गर्ने कुरा धेरै परिवारमा अस्वाभाविक मानिँदैन। तर न्युजिल्याण्डमा यस्तो सोच स्वीकार्य छैन। यहाँ शारीरिक सजायलाई बालबालिकाको अधिकारविपरीत मानिन्छ।

केवल कुटपिट मात्र होइन, बारम्बार “तिमी केही गर्न सक्दैनौ”, “तिमी काम लाग्दैनौ” जस्ता अपमानजनक शब्द प्रयोग गर्नु पनि भावनात्मक दुर्व्यवहार मानिन सक्छ।नेपाली समाजमा अझै पनि “हल्का कुटेपछि बच्चाले सिक्छ” भन्ने धारणा कतैकतै पाइन्छ। तर न्युजिल्याण्डमा शारीरिक सजायलाई स्वीकारिँदैन।

बच्चालाई कुटपिट गर्ने, चोट पुर्‍याउने वा हिंसात्मक व्यवहार गर्ने कार्यले कानुनी अनुसन्धानको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसको सट्टा सकारात्मक अनुशासन (Positive Parenting), संवाद र व्यवहारिक सिकाइलाई प्राथमिकता दिन प्रोत्साहन गरिन्छ।

गाली पनि दुर्व्यवहार हुन सक्छ

केवल कुटपिट मात्र होइन, बच्चालाई बारम्बार होच्याउने, डर देखाउने, अपमान गर्ने वा मानसिक तनाव दिने व्यवहारलाई पनि भावनात्मक दुर्व्यवहारको रूपमा लिन सकिन्छ। विशेषज्ञहरूका अनुसार यस्तो व्यवहारले बालबालिकाको आत्मविश्वास, मानसिक स्वास्थ्य र भविष्यको व्यक्तित्व विकासमा दीर्घकालीन असर पार्न सक्छ।

बच्चाको अधिकार सर्वोपरि

न्युजिल्याण्डमा बच्चाको शिक्षा, स्वास्थ्य, सुरक्षित बसोबास, पर्याप्त खाना र भावनात्मक विकासलाई कानुनले विशेष संरक्षण दिएको छ। अभिभावकले आफ्ना निर्णय गर्दा सधैं “Best Interests of the Child” अर्थात् बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्नुपर्ने व्यवस्था छ।

उमेर र परिपक्वताअनुसार बच्चाको विचारलाई पनि महत्व दिइन्छ। परिवारसँग सम्बन्धित कतिपय कानुनी प्रक्रियामा बालबालिकाको आवाजलाई समेत सुनिन्छ।

उजुरी परे के हुन्छ?

यदि शिक्षक, स्वास्थ्यकर्मी, छिमेकी वा समुदायका अन्य सदस्यले कुनै बच्चा जोखिममा रहेको आशंका गरे भने उनीहरूले Oranga Tamariki वा प्रहरीलाई जानकारी गराउन सक्छन्। त्यसपछि सम्बन्धित निकायले परिवारसँग भेटघाट गर्ने, अवस्था बुझ्ने, आवश्यक परे सहयोग उपलब्ध गराउने र गम्भीर अवस्था भए कानुनी प्रक्रिया अघि बढाउने अधिकार राख्छ। उद्देश्य अभिभावकलाई सजाय दिनुभन्दा पहिले बालबालिकाको सुरक्षा सुनिश्चित गर्नु हो।

नेपाली अभिभावकले के ध्यान दिने?

न्युजिल्याण्डमा बच्चा हुर्काउँदा केही आधारभूत कुरामा विशेष ध्यान दिन आवश्यक छ।

  • १४ वर्षभन्दा कम उमेरका बच्चालाई सुरक्षित हेरचाहबिना घरमा एक्लै नछोड्ने।
  • अनुशासनका नाममा कुटपिट वा अपमानजनक गाली नगर्ने।
  • बच्चासँग सम्मानपूर्वक संवाद गर्ने र सकारात्मक अनुशासन अपनाउने।
  • विद्यालय, स्वास्थ्य सेवा र समुदायसँग नियमित सम्पर्कमा रहने।
  • अभिभावकका रूपमा कठिनाइ आए सरकारी तथा सामुदायिक सेवाबाट सहयोग लिन नहिच्किचाउने।

बढ्दो नेपाली समुदायसँगै बढ्दो जिम्मेवारी

न्युजिल्याण्डमा जन्मिने नेपाली मूलका बालबालिकाको संख्या बढ्दै जाँदा अभिभावकको जिम्मेवारी पनि त्यत्तिकै बढेको छ। यहाँ बच्चा हुर्काउनु भनेको केवल खाना, कपडा र शिक्षाको व्यवस्था गर्नु मात्र होइन, उनीहरूको अधिकारको सम्मान गर्नु, सुरक्षित वातावरण उपलब्ध गराउनु र कानुनअनुसार जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्नु पनि हो।

विशेषज्ञहरूका अनुसार न्युजिल्याण्डको बाल संरक्षण प्रणालीको मूल उद्देश्य परिवारलाई डर देखाउनु होइन, हरेक बालबालिकाले सुरक्षित, स्वस्थ र सम्मानजनक वातावरणमा हुर्किन पाउने अधिकार सुनिश्चित गर्नु हो। यही कारणले नेपाली समुदायले पनि स्थानीय कानुन र सामाजिक मूल्यबारे जानकारी राख्दै आफ्ना सन्तानको भविष्य सुरक्षित बनाउन आवश्यक छ।