काठमाडौं। प्रधानमन्त्री तथा विभिन्न विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गर्नुभएको छ। खुला प्रतिस्पर्धामार्फत छनोट गरिएका उम्मेदवारमध्ये विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा नियुक्ति गरिएको हो।
नवनियुक्त उपकुलपतिहरूमध्ये त्रिभुवन विश्वविद्यालयमा प्रा. डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किशनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त हुनुभएको छ।
नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले बिहीबार शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको थियो।
सरकारले पहिलो पटक ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार एकीकृत र खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट उपकुलपति नियुक्ति गरेको जनाएको छ। यसका लागि शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा गठन गरिएको सिफारिस समितिले विज्ञहरूको उपसमितिमार्फत उम्मेदवारहरूको मूल्याङ्कन र छनोट गरेको थियो।
गत वैशाख २४ गते सरकारले त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि सार्वजनिक रूपमा आवेदन आह्वान गरेको थियो। त्यसपछि योग्यता, कार्ययोजना, अन्तर्वार्ता तथा मूल्याङ्कनका आधारमा योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको थियो।
सरकारले खुला प्रतिस्पर्धामार्फत गरिएको यो नियुक्ति प्रक्रियाले विश्वविद्यालय नेतृत्व चयनलाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र योग्यतामा आधारित बनाउने अपेक्षा गरेको छ।
