काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पक्राउ गरेको छ ।
सीआईबीका अनुसार शेर्पालाई शुक्रबार काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनीमाथि टुङ्गरम इन्टरनेशनल एकेडेमी प्रालिको रकम हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार, एकेडेमीका तर्फबाट अख्तियारप्राप्त प्रतिनिधि रामचन्द्र बहाला श्रेष्ठले दिएको जाहेरीका आधारमा शेर्पालाई पक्राउ गरिएको हो।
अनुसन्धानका क्रममा शेर्पाले एकेडेमीको कार्यकारी प्रमुखका रूपमा एकल हस्ताक्षरको अधिकार प्रयोग गर्दै करिब ८ करोड ७८ लाख ४० हजार रुपैयाँ बराबरको रकम हिनामिना गरेको आरोप लगाइएको छ ।
प्रहरीका अनुसार, उनले भक्तपुरको दधिकोटस्थित एकेडेमीको २९ रोपनीभन्दा बढी जग्गा आफू सम्बद्ध कम्पनीलाई बिक्री गरेको, विद्यालयका नाममा खरिद गरिएका सवारी साधन व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको तथा विभिन्न आर्थिक अनियमितता गरी संस्थालाई ठूलो नोक्सानी पुर्याएको आरोपसमेत लागेको छ ।
सीआईबीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ। पक्राउ परेका शेर्पालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

