काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। परीक्षाफलको विश्वसनीयतामाथि प्रश्न उठाउँदै उनीहरूले उत्तरपुस्तिकाको पुनः परीक्षण गर्न माग गरेका हुन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले आफूहरूले परीक्षा राम्रो दिए पनि अपेक्षाभन्दा निकै कम ग्रेड प्राप्त गरेको गुनासो गरेका छन्। उनीहरूले उत्तरपुस्तिका पुनः जाँच नगरी केवल अंक पुनःयोग (रिटोटलिङ) गर्दा वास्तविक समस्या समाधान नहुने बताएका छन्।

विद्यार्थी रञ्जित कार्कीले परीक्षामा लेखेअनुसारको नतिजा नआएको दाबी गर्दै परीक्षाफल छिटो सार्वजनिक गर्ने नाममा मूल्यांकन प्रक्रियामा लापरवाही गरिएको आरोप लगाए। उनले एक महिनाभित्र नतिजा प्रकाशन गर्दा कुन मापदण्ड अपनाइएको हो भन्नेबारे बोर्डले स्पष्ट पार्नुपर्ने माग गरे।

उनले पुनः परीक्षणका लागि शुल्क लिनु अन्यायपूर्ण हुने बताउँदै भने, “यदि गल्ती विद्यार्थीको नभई मूल्यांकन प्रक्रियाको हो भने पुनः जाँच निःशुल्क हुनुपर्छ। हाम्रो भविष्यसँग जोडिएको विषयमा अतिरिक्त आर्थिक भार थोपर्न मिल्दैन।”

विद्यार्थी स्मृति खतिवडाले पनि उत्तीर्ण भएका धेरै विद्यार्थीसमेत आफ्नो नतिजाप्रति असन्तुष्ट रहेको बताइन्। उनका अनुसार धेरै विद्यार्थीले आफूले लेखेजस्तो अंक नपाएको महसुस गरेका छन्।

“केवल रिटोटलिङ गरेर समस्या समाधान हुँदैन। उत्तरपुस्तिकाको पुनः जाँच नै हुनुपर्छ। त्यसपछि मात्र वास्तविकता बाहिर आउँछ,” उनले भनिन्।

प्रदर्शनकारीहरूले त्रुटिपूर्ण नतिजाले विद्यार्थीहरूको वर्षौंको मेहनत र भविष्यलाई असर पुर्‍याएको आरोप लगाएका छन्। बोर्डको सम्भावित त्रुटिका कारण विद्यार्थीलाई दोषी देखाएर पुनः प्रक्रियाका नाममा शुल्क असुल्ने कार्य बन्द गर्नुपर्ने उनीहरूको माग छ।

आन्दोलनमा सहभागी विद्यार्थीहरूले “१२ वर्षको मेहनत खेर ?”, “हाम्रो भविष्य बर्बाद भयो, न्याय कहाँ खोज्ने ?”, “अनफेयर रिजल्ट बन्द गर”, “जवाफ देऊ” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

विद्यार्थीहरूले नतिजा पुनरावलोकन प्रक्रियालाई पारदर्शी बनाउन, उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था गर्न तथा मूल्यांकन प्रणालीमा देखिएका कमजोरीबारे राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्।