काठमाडौं । ज्येष्ठ शुक्ल एकादशी अर्थात् पवित्र निर्जला एकादशी का अवसरमा आज देशभरका वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको बीउ (दल) रोप्दै भगवान विष्णुको पूजा–आराधना गरेका छन्। धार्मिक विश्वासअनुसार वर्षभरका एकादशी व्रतको पुण्यफल प्राप्त हुने मानिने निर्जला एकादशीका दिन तुलसी दल राख्ने विशेष परम्परा रहिआएको छ।

आज राखिएको तुलसीको दलबाट उम्रिएका बिरुवालाई करिब एक महिनापछि पर्ने हरिशयनी एकादशीका दिन विधिपूर्वक तुलसीको मठमा सार्ने चलन रहेको छ। यसलाई भगवान विष्णुप्रतिको श्रद्धा, प्रकृतिप्रतिको सम्मान तथा पारिवारिक सुख–समृद्धिको प्रतीकका रूपमा लिइन्छ।

धार्मिक ग्रन्थहरूमा तुलसीलाई भगवान विष्णुको प्रिय वनस्पति मानिएको छ। घरको आँगन वा मठमा तुलसी रोप्दा सकारात्मक ऊर्जा, शान्ति र समृद्धि बढ्ने धार्मिक विश्वास छ। तुलसीको पूजा–आराधनाले परिवारमा सुख, स्वास्थ्य र दीर्घायु प्राप्त हुने जनविश्वास रहँदै आएको छ।

निर्जला एकादशीमा श्रद्धालुहरूले दिनभर निराहार तथा निर्जल व्रत बसेर भगवान विष्णुको नामस्मरण गर्ने गर्दछन्। धार्मिक मान्यताअनुसार अन्य एकादशी व्रत गर्न नसकेका व्यक्तिले पनि निर्जला एकादशीको व्रत बस्दा सम्पूर्ण एकादशीको फल प्राप्त हुने विश्वास गरिन्छ।

यस अवसरमा देशभरका विष्णु मन्दिर, कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो। काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायण, पाटन कृष्ण मन्दिरलगायतका धार्मिक क्षेत्रमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको देखिएको थियो।

धार्मिक महत्वसँगै तुलसी औषधीय गुणले भरिपूर्ण वनस्पति पनि हो। आयुर्वेदमा तुलसीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने, श्वासप्रश्वास सम्बन्धी समस्या कम गर्ने तथा वातावरण शुद्ध राख्ने वनस्पतिका रूपमा वर्णन गरिएको छ।