चीन सरकारले न्युजिल्याण्डका चार सांसदलाई एक वर्षका लागि आफ्नो देश भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । ताइवान भ्रमण गरेको भन्दै उनीहरूलाई एक वर्षका लागि प्रतिबन्ध लगाइएको न्युजिल्याण्डस्थित चिनियाँ दूतावासले जनाएको छ ।

दूतावासका अनुसार प्रतिबन्धमा पर्ने सांसदहरूमा नेशनल पार्टीकी मौरीन प्यू, लेबर पार्टीका डन्कन वेब, एक्ट पार्टीकी लाउरा म्याक्लुर र न्युजिल्याण्ड फर्स्टका डेभिड विल्सन रहेका छन्। उनीहरूले गत मे महिनामा ताइवान भ्रमण गरेका थिए ।

न्युजिल्याण्डस्थित चिनियाँ दूतावासले ताइवानसम्बन्धी विषयमा ‘रातो रेखा’ पार गर्ने जो–कोहीले त्यसको परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको छ । दूतावासले चीनसँग कूटनीतिक सम्बन्ध भएका देशका संसद सदस्यहरूको ताइवान भ्रमणप्रति चीन सधैँ असहमत रहेको जनाएको छ ।

यसैबीच, न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्सले ताइवान भ्रमण गरेका चार सांसदमाथि चीनले लगाएको एक वर्षे यात्रा प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्न सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

विदेशमन्त्री पिटर्सका अनुसार न्युजिल्याण्डले आधा शताब्दीभन्दा बढी समयदेखि ‘एक चीन नीति’ अवलम्बन गर्दै आएको छ। न्युजिल्याण्डका सांसदहरूले दशकौँदेखि ताइवान भ्रमण गर्दै आएका छन् र यस्ता भ्रमण उक्त नीतिविपरीत छैनन् ।

उनले ताइवान भ्रमणकै कारण पहिलोपटक न्युजिल्याण्डका सांसदमाथि चीनले यात्रा प्रतिबन्ध लगाएकोमा आफू आश्चर्यचकित भएको बताए। यस विषयमा चिन्ता व्यक्त गर्न र विगतको अभ्यासभन्दा फरक किन गरियो भन्ने बुझ्न विदेश मन्त्रालयका अधिकारीहरूलाई बेइजिङ र वेलिङ्टनबाट चिनियाँ पक्षसँग छलफल गर्न निर्देशन दिइएको उनले बताए ।

न्युजिल्याण्ड संसदका सभामुख गेरी ब्राउनलीले प्रतिबन्धप्रति आश्चर्य र निराशा व्यक्त गरेका छन्। उनका अनुसार ती चार सांसद सरकारका सदस्य होइनन् र उनीहरू ताइवान–चीन सम्बन्धबारे जानकारी लिन मात्र भ्रमणमा गएका हुन सक्छन् । उनले न्युजिल्याण्डको राजनीतिक प्रणालीअनुसार सांसदहरू स्वतन्त्र रूपमा निर्वाचित हुने र विदेश भ्रमणजस्ता विषयमा आफ्नै निर्णय लिन सक्ने बताए। साथै, उनीहरू सरकारको तर्फबाट कुनै आधिकारिक अधिकार लिएर नजाने पनि स्पष्ट पारे ।

प्रतिबन्धमा परेका सांसदमध्ये डन्कन वेबले भ्रमणअघि नै चिनियाँ दूतावासले यस्तो कदम चाल्न सक्ने चेतावनी दिएको बताए। उनले ताइवानमा सरकारी अधिकारी, विश्वविद्यालय, अर्धचालक उद्योग तथा साइबर सुरक्षा निकायको भ्रमण गरेको र भ्रमण अत्यन्त उपयोगी तथा जानकारीमूलक रहेको बताएका थिए ।

वेबले सांसदका रूपमा ताइवानी प्रशासन र विश्वका अन्य निकायसँग संसदीय तहमा सम्बन्ध विस्तार गर्नु आफ्नो जिम्मेवारी भएको भन्दै चीनको कदम निराशाजनक रहेको प्रतिक्रिया दिए । उता अष्ट्रेलियाले पनि चीनको निर्णयप्रति चिन्ता व्यक्त गरेको छ । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले सांसदहरू आफ्नो विदेश भ्रमणबारे स्वतन्त्र निर्णय लिन सक्ने न्युजिल्याण्डको धारणालाई आफूहरूले पनि समर्थन गर्ने बताएकी छन् । समाचार/फोटो: आरएनजेड