काठमाडौं । आज १७औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ । तर, प्रधानमन्त्री बालेन्द्र शाहले भने गणतन्त्र दिवस समारोहलाई सम्बोधन नगर्ने भएका छन् ।
अघिल्ला वर्षहरूमा गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्दै आउने गरिएको थियो । प्रधानमन्त्रीले ‘गणतन्त्रको प्रमुख प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपतिबाटै सम्बोधन उपयुक्त हुने’ भन्दै शीतल निवासमा पत्र पठाएर राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध गरेका थिए । जसअनुसार राष्ट्रपतिले सम्बोधन गर्ने बताइएको छ । यद्यपि प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाह समारोहमा सहभागी भने हुनेछन् ।
वि.सं. २०६५ जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रको औपचारिक अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउने गरिन्छ ।
दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ । समारोह बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रम रहेको छ, जसमा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका नेताहरू तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
यसअघि आज बिहान नेपाली सेनाले गणतन्त्र दिवसको स्वागतमा तोप पड्काएर सम्मान प्रकट गरेको थियो । समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
जनआन्दोलनदेखि गणतन्त्रसम्मको यात्रा
वि.सं. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीबीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।
त्यसपछि २०६२ सालको जनआन्दोलनले तीव्रता पायो । लाखौँ नागरिक सडकमा उत्रिएपछि राजा ज्ञानेन्द्र संसद् पुनःस्थापना गर्न बाध्य भए । पुनर्स्थापित संसद्ले २०६३ जेठ ४ गते राजसंस्थाको अधिकार कटौती गर्दै राजतन्त्र निलम्बन गर्यो र संविधानसभा निर्वाचनमार्फत नयाँ संविधान निर्माणको प्रक्रिया अघि बढायो ।
वि.सं. २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनपछि २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
संविधान निर्माण र राष्ट्रपतिहरू
पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि गणतन्त्र संस्थागत गर्ने महत्वपूर्ण काम गरेको थियो । दोस्रो संविधानसभाबाट वि.सं. २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी भयो । संविधान कार्यान्वयनसँगै संघीय, प्रादेशिक र स्थानीय तहको निर्वाचन सम्पन्न भई संघीय शासन प्रणाली कार्यान्वयनमा आएको छ ।
गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव बनेका थिए । त्यसपछि विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति तथा नेपालको पहिलो महिला राष्ट्राध्यक्ष बनिन् । हाल रामचन्द्र पौडेल तेस्रो राष्ट्रपतिका रूपमा कार्यरत छन् ।
