नेपाली सांगीतिक क्षेत्रमा फरक शैली र सुमधुर आवाजका कारण छोटो समयमै लोकप्रिय बनेका गायक सुजन चापागाईंको न्युजिल्याण्ड प्रस्तुतीलाई लिएर दर्शकमाझ उत्साह र चासो बढ्दै जान थालेको छ ।
आगामी जुलाई २० तारिखमा आयोजना हुन लागेको ‘सुजन चापागाईं लाइभ इन अकल्याण्ड’ कार्यक्रमको अर्ली बर्ड टिकट शुक्रबार साँझदेखि खुल्ने जानकारीसँगै संगीतप्रेमीहरूले चासो देखाउन थालेका हुन् ।
आयोजक लाखे इभेन्ट्सका अनुसार शुक्रबार साँझ ५ बजेदेखि संगीतप्रेमीहरूले अर्ली बर्ड टिकट खरिद गर्न सक्नेछन् ।
‘फूलथुङ्गे रानी’, ‘घुमीघुमी’, ‘उनको स्वीटर’ लगायतका गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा विशेष पहिचान बनाएका सुजन चापागाईं पछिल्लो समय युवा पुस्तामाझ अत्यन्त लोकप्रिय मानिन्छन् । उनका गीतहरूले प्रेम, गाउँघर, जीवनका भोगाइ र नेपाली समाजको भावनालाई नजिकबाट प्रस्तुत गर्ने भएकाले प्रवासी नेपालीबीच पनि विशेष रुचाइने गरिएको छ ।
अकल्याण्डसँगै क्राइष्टचर्चमा पनि सुजनले आफ्नो प्रस्तुती दिने कार्यक्रम तय भएको छ । न्युजिल्याण्डका दुई ठूला शहरमा हुन लागेको यो सांगीतिक यात्रालाई यहाँको नेपाली समुदायले वर्षकै विशेष सांगीतिक कार्यक्रमका रूपमा हेरेका छन् ।
नेपथ्यको सफल प्रस्तुतीपछि न्युजिल्याण्डमा नेपाली सांगीतिक कार्यक्रमप्रति आकर्षण झन् बढिरहेको अवस्थामा लाखे इभेन्ट्सले पुनः अर्को चर्चित कलाकारलाई ल्याउन लागेको हो । आयोजक टोलीले यसपटक पनि दर्शकलाई उच्चस्तरीय सांगीतिक अनुभव दिलाउने तयारी भइरहेको जनाएको छ ।
