अकल्याण्डमा यतिबेला नेपाली संगीतको तरंग फलामे तारमा बगेको करेन्टझैँ फैलिएको छ। नेपालीहरू हिँड्ने सडक, सामाजिक सञ्जाल, क्याफे, भेटघाट र समुदायका जमघटहरूमा एउटै चर्चा छ — अकल्याण्डमा नेपथ्यले आफ्नो प्रस्तुति दिँदैछ ।
नेपाली कला, संगीत र संस्कृतिलाई न्युजिल्याण्डमा फैलाउने उद्देश्यसहित स्थापित लाखे इभेन्ट्सले यसपटक नेपालको चर्चित लोक–रक ब्यान्ड नेपथ्यलाई अकल्याण्ड ल्याएको हो । कार्यक्रममा ग्रेस इन्टरनेशनल मुख्य सहकार्य साझेदारको रूपमा रहेको छ ।
नेपाली संगीतको इतिहासमा आफ्नो छुट्टै पहिचान बनाएको नेपथ्य केवल एउटा सांगीतिक समूह मात्र होइन, यो नेपाली भावना, संस्कृति र पुस्तौँदेखिको स्मृतिसँग जोडिएको नाम हो । नेपालका गाउँदेखि विश्वका सहरसम्म जहाँ नेपाली पुगेका छन्, त्यहाँ नेपथ्यका गीतहरू पनि पुगेका छन् ।

सायद कुनै नेपाली यस्तो कमै होला जसले नेपथ्य नसुनेको होस् । बालकदेखि वृद्धसम्म, गाउँदेखि सहरसम्म, विद्यार्थीदेखि श्रमिकसम्म — सबै पुस्तालाई जोड्ने शक्ति नेपथ्यसँग छ । यही कारणले अकल्याण्डमा हुन लागेको नेपथ्य कन्सर्टलाई सामान्य सांगीतिक कार्यक्रमभन्दा धेरै ठूलो सांस्कृतिक उत्सवका रूपमा हेरिएको छ ।
नेपथ्यका प्रमुख गायक अमृत गुरुङको व्यक्तित्व पनि ब्यान्डजत्तिकै लोकप्रिय छ । सरल जीवनशैली, मिजासिलो स्वभाव, नेपालीपनप्रतिको प्रेम र यथार्थ बोल्ने बानीका कारण उनी धेरै नेपालीका प्रिय पात्र बनेका छन् । उनी गीत गाउने मात्र होइनन्, नेपाली समाजका भावना, दुःख, संघर्ष र आशालाई संगीतमार्फत अभिव्यक्त गर्ने कलाकार हुन् ।
उनका शब्दहरूमा बनावटीपन हुँदैन । उनी नेपाली माटोको कुरा गर्छन्, नेपालीको पीडा बोल्छन् र नेपालीकै आशा गाउँछन् । यही कारणले उनका गीतहरू मानिसको मनमा सीधै पुग्छन् ।
अकल्याण्डमा आयोजना हुन लागेको कन्सर्टप्रति दर्शकको उत्साहले आयोजकलाई समेत भावुक र उत्साहित बनाएको छ । नेपथ्यलाई स्वागत गर्दै लाखे इभेन्ट्सका निर्देशक रोजन भट्टराई भावुक बनेका थिए । नेपथ्यलाई न्युजिल्याण्ड ल्याउन गरिएको लामो प्रयास, संघर्ष र त्यसबाट प्राप्त सफलताको खुशी उनको भावनामा स्पष्ट देखिन्थ्यो ।
उनका अनुसार नेपथ्यको आगमनले लाखे इभेन्ट्सको गरिमा र उचाइलाई अझ माथि पुराएको छ । “यो केवल कन्सर्ट होइन, नेपाली आत्माको उत्सव हो,” उनले बताएका छन् ।
दर्शकको सम्भावित ठूलो उपस्थितिलाई ध्यानमा राख्दै यसपटक ठूलो क्षमताको हल चयन गरिएको छ । ‘फ्लोर टिकट’ पूर्ण रूपमा बिक्री भइसकेका छन् भने बाँकी टिकटहरू पनि तीव्र गतिमा बिक्री भइरहेका छन् । कार्यक्रममा दुई हजारभन्दा बढी दर्शक सहभागी हुने अनुमान गरिएको छ ।

नेपथ्य टोली मंगलबार राति अकल्याण्ड आइपुगेको थियो । विमानस्थलमा लाखे इभेन्ट्सको टोलीले उनीहरूलाई स्वागत गरेको थियो । त्यसपछि बुधबार माओरी परम्पराअनुसार ‘हाक्का’ सहित औपचारिक स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।
स्वागत कार्यक्रममा अमृत गुरुङले न्युजिल्याण्डसँग आफ्नो पुरानो सम्बन्ध रहेको स्मरण गर्दै यहाँ रहेका नेपाली समुदायबीच प्रस्तुति दिन पाउँदा अत्यन्त खुशी लागेको बताएका थिए । उनले नेपालीहरूलाई जहाँ रहे पनि वातावरणलाई माया गर्दै खुशी भएर बाँच्न आग्रह गरे ।
कार्यक्रममा न्युजिल्याण्डका लागि नेपाली वाणिज्य दूत दिनेश खड्काले नेपथ्यले भाइरल हुनका लागि नभई नेपाली माटो र आत्मालाई समेटेर संगीत प्रस्तुत गर्ने भएकाले सधैं सबैको मन जित्न सफल भएको बताए ।
नेपथ्यको विशेषता भनेकै नेपाली लोकधुनलाई आधुनिक संगीतसँग जोडेर नयाँ स्वाद दिनु हो । सन् १९९० को दशकदेखि सुरु भएको यो सांगीतिक यात्राले नेपाली संगीतलाई विश्वमञ्चसम्म पुर्याएको छ ।
‘रेशम’, ‘तालको पानी’, ‘जोमसोम बजारमा’, ‘छेक्यो छेक्यो’, ‘उडायो रेलैले’, ‘जोगाले हुन्छ भेट’, ‘यानी माया’, ‘यो जिन्दगानी’, ‘चरी मर्यो सिसैको गोलीले’ जस्ता गीतहरू केवल लोकप्रिय गीत मात्र होइनन्, नेपाली समाजको भावनात्मक दस्तावेजजस्तै बनेका छन् ।
यी गीतहरू सुन्दा कसैलाई गाउँ सम्झिन्छ, कसैलाई परिवार, कसैलाई बाल्यकाल त कसैलाई आफ्नै देश । यही भावनात्मक सम्बन्धले विदेशमा रहेका नेपालीहरूलाई नेपथ्यसँग अझ नजिक बनाएको छ ।
न्युजिल्याण्डमा यसअघि पनि धेरै नेपाली कलाकारहरूले प्रस्तुति दिइसकेका छन् । सविन राई, विपुल क्षेत्री, एज ब्यान्ड, प्रमोद खरेल, मेलिना राई, कालीप्रसाद बाँस्कोटा, सज्जनराज वैद्य, प्रकाश सपुत, शान्ति श्री परियारलगायत कलाकारका कार्यक्रम सफल भएका थिए । तर धेरै संगीतप्रेमीहरूका अनुसार नेपथ्यको ऊर्जा, दर्शकसँगको सम्बन्ध र सांगीतिक प्रभाव फरक स्तरको हुन्छ ।
सन् २०१७ मा अकल्याण्डमा भएको नेपथ्यको प्रस्तुति अहिले पनि धेरै नेपालीले सम्झिरहेका छन् । त्यसबेला हलभरि दर्शकसँगै गीत गुञ्जिएको दृश्य अझै ताजा छ । यसपटक भने त्योभन्दा ठूलो माहोल बन्ने छ ।
विदेशमा बस्ने नेपालीका लागि यस्ता कार्यक्रम केवल मनोरञ्जन होइनन् । यिनले नेपाली भाषा, संस्कृति, पहिचान र सामूहिक भावनालाई जोगाइराख्ने काम गर्छन् । केही घण्टाका लागि भए पनि यस्ता कार्यक्रममा सहभागी हुँदा धेरै नेपालीले आफू फेरि नेपालमै पुगेको अनुभूति गर्छन् ।
अकल्याण्डमा हुन लागेको नेपथ्य कन्सर्टले पनि त्यही अनुभूति दिलाउने विश्वास गरिएको छ । संगीतसँगै नेपालीपन, सम्झना, भावना र आत्मीयताको संगम बन्ने यो कार्यक्रम अहिले न्युजिल्याण्डभरका नेपाली समुदायको प्रतिक्षाको केन्द्र बनेको छ । त्यो प्रतीक्षा आगामी आइतबार अकल्याण्डको ड्यु ड्रप सेन्टरमा गएर समाप्त हुने छ ।
