मलेसियाको उत्तरी बोर्नियो राज्य सबाको सान्दाकन जिल्लास्थित एक तटीय गाउँमा आइतबार बिहान भएको भीषण आगलागीमा झन्डै १ हजार घर जलेर नष्ट भएका छन् । घटनाबाट ९ हजारभन्दा बढी बासिन्दा प्रभावित भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

अग्नि नियन्त्रण प्रमुख जिमी लागुङका अनुसार आगो करिब ४ हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको थियो। भाटाको समय भएकाले पर्याप्त पानीको स्रोत अभाव हुँदा आगो नियन्त्रण गर्न कठिनाइ भएको उनले बताए । आगलागी स्थानीय समयअनुसार राति १ः३२ बजे सुरु भई करिब १२ बजे नियन्त्रणमा आएको थियो ।

सान्दाकन नगरपालिकाका अध्यक्ष वाल्टर केन्सनले प्रभावित क्षेत्र बसोबासका लागि असुरक्षित देखिएकाले यस घटनालाई विपद् घोषणा गरिएको जानकारी दिए। यद्यपि, घटनामा मानवीय क्षतिको खबर प्राप्त भएको छैन ।

स्थानीय प्रशासनले प्रभावित बासिन्दाहरूका लागि अस्थायी आश्रयको व्यवस्था सुरु गरेको जनाएको छ ।