अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलाका सहायक सचिव समिर पॉल कपुर तीनदिने भ्रमणका लागि सोमबार काठमाडौं आउने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले पदभार ग्रहण गरेपछि नेपाल भ्रमण गर्ने उनी सबैभन्दा वरिष्ठ विदेशी अधिकारी हुनेछन्।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार कपुरको भ्रमणको मुख्य उद्देश्य नयाँ सरकारलाई बधाई दिनु, प्राथमिकताबारे जानकारी लिनु र अमेरिकाले कसरी सहकार्य गर्न चाहन्छ भन्ने सन्देश दिनु हो। यद्यपि भ्रमणबारे औपचारिक घोषणा भने दुवै पक्षले गरेका छैनन्।
भ्रमणका क्रममा कपुरले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साथै नेपाल–अमेरिका चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग पनि छलफल गर्नेछन्।
अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) परियोजनाको कार्यान्वयन, अमेरिकी लगानी विस्तार, व्यापार तथा करसम्बन्धी विषय र तिब्बती शरणार्थीको अधिकारलाई प्राथमिकतामा राखेको बताइएको छ।
विशेषज्ञहरूका अनुसार नयाँ सरकार गठनसँगै अमेरिकाले चाँडै उच्चस्तरीय प्रतिनिधि पठाउनु नेपालप्रति उसको बढ्दो चासोको संकेत हो। कपुरको भ्रमणले नेपाल–अमेरिका सम्बन्धलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
