न्युजिल्याण्डको वेलिङ्टन क्षेत्रमा आएको भीषण वर्षाका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ। क्षेत्रीय आपतकालीन व्यवस्थापन कार्यालयका अनुसार तारारुआ रेन्ज, कापिटी कोस्ट र वेलिङ्टन क्षेत्रमा भारी वर्षा भएको छ।
निरन्तर वर्षाका कारण केही स्थानमा बाढीसमेत आएको समाचारमा उल्लेख गरिएको छ। प्राप्त जानकारी अनुसार खराब मौसमका कारण स्टोक्स भ्याली र पोरीरुवाका २६ घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। साथै स्टेट हाइवे ५८ (पाउआतानुई–हेवार्ड्स), स्टेट हाइवे ५९ (पारेमाटा–प्लिमर्टन) र स्टेट हाइवे २ को केही भाग बन्द गरिएको छ। इस्टर्न हट रोड र पाएकाकारिकी हिल रोड पनि बन्द रहेका छन्।
स्थानीय प्रशासनले अत्यावश्यक बाहेक सडकमा ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ। पानीको सतह बढ्न थालेमा तत्काल उच्च स्थानतर्फ सर्न समेत अनुरोध गरिएको छ।
पोरीरुवा मेयर अनिता बेकरका अनुसार यो अवस्था गत साता आएको ‘भायानु’ चक्रवातभन्दा पनि गम्भीर देखिएको छ। मौसम विभागका अनुसार सक्रिय ट्रफ प्रणालीका कारण शनिबार र आइतबारसम्म वर्षा र आँधीको जोखिम कायम रहने सम्भावना छ। अधिकारीहरूले सबैलाई सुरक्षित रहन, सूचना अद्यावधिकहरू पालना गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
