समय सधैं एकोहोरो अगाडि बढिरहन्छ । वर्ष फेरिरहन्छ । फेरिएको समयसँगै कथा अनुसार पात्र पनि फेरिरहन्छ, तर हरेक मानिसका सपना, संघर्ष र आशाहरू भने उस्तै हुन्छन् । स्वदेश तथा विदेशमा रहेका हामी नेपालीहरू आज पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्ष २०८३ को सुरुवातमा उभिएका छौं—मनमा अनेक अनुभूति, सम्झना र अपेक्षाहरू बोकेर ।
हामीमध्ये धेरै नेपालीहरू आफ्नै जन्मभूमिबाट हजारौं किलोमिटर टाढा विदेशी भूमिमा छौं । कोही पढाइका लागि, कोही रोजगारीका लागि, त कोही बाध्यताले । बाहिरबाट हेर्दा सबै कुरा सहज र सफल देखिए पनि, भित्रभित्रै धेरै कथा छन्—परिश्रमका, पीडाका, एक्लोपनका र सम्झनाका । सबैको विदेश यात्रा सफल र सोचेजस्तो बनेको हुँदैन । कसैले समयसँग संघर्ष गरिरहेको छ, कसैले परिस्थितिसँग, र कसैले आफ्नै भावनासँग ।
विदेशमा बित्ने दिनहरू काम, जिम्मेवारी र समयको चापले भरिएका हुन्छन् । परिवारलाई दिन नसकेको समयको पीडा, बालबालिकाको बढ्दो उमेर टाढैबाट हेर्नुपरेको अवस्था, बुबाआमाको साथ दिन नसकेको ग्लानि—यी सबै अनुभूति मनको गहिराइमा रहिरहन्छन् । फुर्सदको केही क्षण भेटिएमा हामी फोन, भिडियो कल वा सन्देशमार्फत आफ्ना परिवारसँग जोडिने प्रयास गर्छौं, जसले केही समयका लागि भए पनि मनलाई सान्त्वना दिन्छ ।
जति विकसित र सम्पन्न देशमा बसे पनि, आफ्नो देशको माटो, संस्कृति, भाषा र सम्बन्धको मूल्य फरक हुन्छ । नेपालमा हुने साना–साना घटना, गाउँघरका गतिविधि, चाडपर्व, मेलापात—यी सबैले हाम्रो मन छोइरहन्छ । विशेषगरी नयाँ वर्ष, दशैं, तिहारजस्ता पर्वहरू आउँदा, आफ्नो माटोमा नभएको खालीपन अझ बढी महसुस हुन्छ ।
विदेशमा रहेका नेपालीहरूका लागि नयाँ वर्ष केवल पात्रो फेरिने दिन मात्र होइन, यो आत्ममूल्यांकन गर्ने समय पनि हो । विगत वर्षमा के गरियो, के गर्न सकिएन, कति सपना अधुरा रहे—यी सबैको समीक्षा गर्दै आगामी दिनका लागि नयाँ योजना बनाउने अवसर हो ।
यस वर्ष हामीले एउटा नयाँ यथार्थ पनि देखिरहेका छौं—नयाँ पुस्ताको जागरण, परिवर्तनको चाहना र जिम्मेवार शासनप्रतिको अपेक्षा। देशभित्र आशाका नयाँ संकेतहरू देखिन थालेका छन् । यदि यी संकेतहरू सही दिशामा अघि बढे भने, विदेशिन बाध्य भएका नेपालीहरूका लागि स्वदेशमै अवसर सिर्जना हुन सक्छ ।
हामी सबैको चाहना एउटै हो—आफ्नो देशमा सम्मानजनक जीवन, सुरक्षित भविष्य र परिवारसँगै बस्ने अवसर । नयाँ वर्ष २०८३ ले यही सम्भावनालाई बलियो बनाओस् भन्ने कामना छ।
यस अवसरमा, हामी सबैले आफैंसँग एउटा सानो प्रतिबद्धता गरौं—जहाँ रहे पनि आफ्नो पहिचान, संस्कृति र मूल्यलाई जोगाउने, एकअर्कालाई साथ दिने, र सकारात्मक सोचका साथ अघि बढ्ने । सानो–सानो प्रयासले नै ठूलो परिवर्तन ल्याउन सक्छ।
नयाँ वर्ष केवल उत्सव होइन, यो नयाँ सुरुवातको संकेत हो। यो आशा, विश्वास र सम्भावनाको यात्रा हो ।
नेपालभन्दा हजारौं किलोमिटर टाढाको देश न्युजिल्याण्डमा रहेर नेपाल र नेपालीलाई सूचना र सन्देशका माध्यमबाट विश्वमा जोड्ने उद्देश्यले सुरु गरिएको हिमालपारी मिडियाको तर्फबाट यहाँहरू सबैलाई नेपाली नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछौं । तपाईं जहाँ हुनुहुन्छ, त्यहीँबाट तपाईंको सपना उज्यालो बनोस्। तपाईंको मेहनतले सफलताको रूप लिओस्। तपाईंको परिवार सधैं सुख, शान्ति र समृद्धिमा रहोस् ।
नयाँ वर्षले तपाईंको जीवनमा नयाँ ऊर्जा, नयाँ अवसर र नयाँ खुसी ल्याओस्, हामी यही कामना गर्दछौं । साथै तपाईंहरूको सुझाव र सल्लाहबाट अघि बढ्ने प्रण पनि गर्दछौं ।
हिमालपारी मिडिया ग्रुप लिमिटेड
न्युजिल्याण्ड, अकल्याण्ड
