काठमाडौं । नेपालमा दैविक प्रकोपका कारण झण्डै छ सय जनाको मृत्यु भएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको वार्षिक विपद् तथ्यांक २०८२ अनुसार देशभर ७ हजार ७ सय १६ वटा विपद्का घटनामा परी ४ सय ९६ जनाले ज्यान गुमाएका छन् भने ३८ जना बेपत्ता भएका छन्। साथै १ हजार ९ सय ९१ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार विपद्का कारण देशभरका १३ हजार ६ सय ९३ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। तथ्यांकअनुसार यस वर्ष सबैभन्दा बढी आगलागीका घटना भएका छन्। कुल ३ हजार ७ सय ६८ आगलागीका घटनामा १०६ जनाको मृत्यु हुनुका साथै ५ सय ७४ जना घाइते भएका छन्। यस्तै, सर्पदंशका ६ सय २७ घटनामा १ सय १ जनाको मृत्यु भएको छ, जुन मानवीय क्षतिका हिसाबले दोस्रो ठूलो कारण बनेको छ।
प्राकृतिक प्रकोपतर्फ हेर्दा पहिरोका ६ सय २४ घटनामा ७६ जनाको मृत्यु भएको छ भने बाढीका ३ सय २९ घटनामा ३९ जनाले ज्यान गुमाएका छन्। चट्याङका ४ सय २६ घटनामा ४८ जनाको मृत्यु र ३ सय १२ जना घाइते भएका छन्।
यसैगरी जनावर आक्रमणका ५ सय १६ घटनामा ५७ जनाको मृत्यु, लेक लाग्ने १३४ घटनामा ४१ जनाको मृत्यु, भारी वर्षाका ४४९ घटनामा ७ जनाको मृत्यु तथा हिउँपहिरोका ६ घटनामा ६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।
