अकल्याण्ड । नेपाल फेस्टिभल अकल्याण्डमा भव्य रूपमा सम्पन्न भएको छ। न्युजिल्याण्ड सरकारका मन्त्रीहरू, विपक्षी दलका नेता, सांसदहरू तथा नेपाली समुदायको उल्लेखनीय उपस्थितिमा कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको हो।

सुरक्षा चुनौतीका कारण क्रिस्टोफर लक्सन कार्यक्रममा उपस्थित हुन नसके पनि उनले कार्यक्रम सुरु हुनुअघि शुभकामना सन्देश पठाउँदै फेस्टिभलको सफलताको कामना गरेका थिए।

कार्यक्रमको नेतृत्व मन्त्री पौल गोल्डस्मिथले गरेका थिए। उनले नेपाल र न्युजिल्याण्डबीचको सम्बन्धबारे चर्चा गर्दै नेपाली समुदायप्रति उच्च सम्मान व्यक्त गरे। साथै नेपाली परिकारप्रति आफू आकर्षित भएको पनि बताए।

न्युजिल्याण्डका लागि नेपाली बाणिज्यदूत दिने खड्काले नेपाल फेस्टिभलले नेपालीबीचको एकतालाई अझ मजबुत बनाएको बताए। उनले सहभागीहरूको उत्साहले फेस्टिभलको महत्व अझ बढाएको उल्लेख गरे। साथै यसले न्युजिल्याण्डका स्थानीय नागरिकमा पनि नेपालप्रति चासो र सकारात्मक धारणा विकास गराएको बताए।

त्यसैगरी, विपक्षी दलका नेता क्रिस हप्किन्सले नेपाल फेस्टिभलको शुभकामना व्यक्त गर्दै नेपाल र नेपाली समुदायको प्रशंसा गरेका थिए।

न्युजिल्याण्ड नेपाल सोसाइटीको आयोजनामा अकल्याण्डस्थित अओटेआ स्क्वायरमा सम्पन्न फेस्टिभलमा न्युजिल्याण्ड सरकारका अधिकारीहरू र नेपाली समुदायबीच अन्तरक्रिया तथा आत्मीयता साटासाट गरिएको थियो।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतले आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए, जसले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। कार्यक्रममा उनले दर्जनभन्दा बढी आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए।

फेस्टिभलमा नेपाली मौलिक परिकारका विभिन्न स्टलहरू, शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाहरू लगायतको सहभागिता रहेको थियो। स्टलमार्फत विभिन्न सेवा तथा जानकारी प्रदान गरिएको थियो।

नेपाल फेस्टिभलले नेपाली संस्कृति, परम्परा र पहिचानलाई प्रवर्द्धन गर्दै बहुसांस्कृतिक समाजबीच आपसी समझदारी र सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।

नेपाल फेस्टिभलका केही तस्वीरहरू।