काठमाडौं – सरकार गठनसँगै प्रहरी प्रशासनले गुण्डागर्दीविरुद्ध विशेष अभियान सुरु गरेको छ। अभियानअन्तर्गत विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरले संयुक्त रूपमा कारबाही गर्दै शुक्रबार राति मात्र १९५ जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट सो संख्यामा विभिन्न मान्छेहरू पक्राउ परेको एसएसपी थापाले बताए । पक्राउ पर्नेमा विभिन्न क्षेत्रमा गुण्डागर्दीमा संलग्न व्यक्तिहरू रहेका छन् । प्रहरीले पछिल्लो समय सरकारी कार्यालयहरूमा सक्रिय बिचौलियामाथि पनि निगरानी बढाउँदै नियन्त्रणमा लिन थालेको जनाएको छ ।