काठमाडौं — भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनामा संलग्नताको आरोपमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्।
प्रहरीले शुक्रबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्का नेतृत्वको टोलीले निवासमा प्रवेश गरी ओलीलाई पक्राउ गरेको जनाएको छ। पक्राउपछि उनलाई उनकै सवारी साधनमार्फत काठमाडौं प्रहरी परिसर लगिएको छ।
यसअघि सोही प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको थियो।
प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान जाने घटनाको अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उक्त घटनाबारे गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक तथा पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङमाथि फौजदारी अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो।
उक्त सिफारिसका आधारमा मुलुकी अपराध संहिता, २०७४ को दफा १८२ अन्तर्गत ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। सो दफाअनुसार दोषी ठहर भएमा तीन वर्षसम्म कैद तथा जरिवाना हुने व्यवस्था रहेको छ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि अनुसन्धान प्रक्रिया तीव्र बनेको हो। गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएका थिए भने कानुनी प्रक्रिया टुंग्याउन कानून सचिव पाराश्वर ढुंगानाले रातभर काम गरेको स्रोतले जनाएको छ।
महान्यायाधिवक्ता कार्यालय निकट स्रोतका अनुसार मृतक तथा घाइतेका परिवारले दर्ता गराएको जाहेरीका आधारमा प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरी कारबाही अघि बढाएको हो। जिल्ला अदालतबाट पूर्वस्वीकृति नलिइ आपतकालीन अवस्थामा जरुरी पुर्जीमार्फत पक्राउ गरिएको बताइएको छ।
पक्राउअघि ओलीले आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गर्दै उक्त कदमलाई प्रतिशोधपूर्ण भएको प्रतिक्रिया दिएका थिए। उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग छलफल गरेका थिए।
नेपालको इतिहासमा कार्यकारी प्रमुखको हैसियतमा रहिसकेका व्यक्तिलाई ज्यानसम्बन्धी फौजदारी मुद्दामा पक्राउ गरिएको यो पहिलो घटना भएको बताइएको छ। यसअघि राजनीतिक प्रकृतिका आन्दोलनमा नियन्त्रणमा लिइए पनि यस्ता गम्भीर आपराधिक अभियोगमा पक्राउ गरिएको उदाहरण कम रहेको छ।
प्रहरीले अब ओलीलाई २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी गरेको छ। त्यसअघि स्वास्थ्य परीक्षण गरी हिरासतमा राख्ने प्रक्रिया अघि बढाइने जनाएको छ।
