प्रतिनिधि विवाद, कार्ड वितरण र नेतृत्व चयनको अन्योलले कार्यक्रम प्रभावित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्दसत्र अन्ततः स्थगित भएको छ। बिहान ९ बजे सुरु हुने भनिएको बन्दसत्र पटक–पटक समय सारिएपछि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो।

पार्टी स्रोतका अनुसार महाधिवेशन प्रतिनिधिको अन्तिम सूची टुंगो नलाग्नु, परिचयपत्र वितरणमा ढिलाइ हुनु तथा नेतृत्व चयनको प्रक्रियाबारे अन्योल कायम रहनु बन्दसत्र स्थगित हुनुका प्रमुख कारण हुन्। अब मंगलबार बन्दसत्र आयोजना गर्ने तयारी भए पनि समय भने तय भइसकेको छैन।

महाधिवेशन स्थलमा सहभागी नेता, कार्यकर्ता र प्रतिनिधिहरूले कार्यक्रम कहिले सुरु हुने भन्नेबारे स्पष्ट जानकारी नपाएको बताएका छन्। बन्दसत्रका लागि तयार गरिएको हल सहभागीहरूले भरिभराउ भए पनि कार्यक्रम सुरु नहुँदा धेरै प्रतिनिधि प्रतीक्षामै बसेका थिए। केही सहभागी आपसमा छलफल गरिरहेका देखिन्थे भने केही थकानका कारण विश्राम गरिरहेका थिए।

पार्टीका प्रवक्ता मनीष झाले अपेक्षाभन्दा धेरै प्रतिनिधि र केन्द्रीय सदस्यका आकांक्षीहरू सहभागी भएकाले व्यवस्थापनमा चुनौती थपिएको स्वीकार गरेका छन्। उनले पहिलो महाधिवेशन भएकाले तयारीका केही पक्षमा कमजोरी भएको बताए।

रास्वपाले सुरुमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरे पनि संख्या चार हजारभन्दा बढी पुगेको बताइएको छ। प्रतिनिधिसँगै ठूलो संख्यामा कार्यकर्ता पनि उपस्थित भएपछि व्यवस्थापनमा दबाब परेको नेताहरूको भनाइ छ।

महाधिवेशन प्रतिनिधिको सूचीलाई लिएर विशेषगरी मधेश प्रदेशमा विवाद देखिएको छ। प्रतिनिधि चयन प्रक्रियाविरुद्ध एक सयभन्दा बढी उजुरी परेको र केही सांसदहरूको नामसमेत सूचीमा छुटेको बताइएको छ। पार्टीको निर्वाचन आयोग प्रतिनिधिको सूची संशोधनमै व्यस्त रहेको स्रोतले जनाएको छ।

यस्तै, प्रतिनिधिको नाम टुंगो लागिसकेकाहरूमध्ये पनि धेरैले परिचयपत्र पाउन नसकेको गुनासो गरेका छन्। परिचयपत्रबिना बन्दसत्र हलमा प्रवेश गर्न नपाइने व्यवस्था छ।

यसबीच पार्टीभित्र केन्द्रीय समिति तथा पदाधिकारी चयन सहमतिबाट हुने वा निर्वाचनमार्फत टुंग्याइने भन्ने विषयमा पनि अन्योल देखिएको छ। रास्वपामा ९९ केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुने व्यवस्था छ भने करिब एक हजार जना आकांक्षी देखिएका छन्।

सभापति पदमा भने वर्तमान सभापति रवि लामिछाने पुनः निर्वाचित हुने लगभग निश्चित देखिएको नेताहरूको भनाइ छ। तर महामन्त्री, उपसभापति तथा अन्य पदाधिकारी चयनलाई लिएर विभिन्न समूहबीच आन्तरिक छलफल जारी रहेको बताइएको छ।

पार्टी नेतृत्वले सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास गरिरहेको भए पनि आकांक्षीहरूको संख्या धेरै भएकाले निर्वाचनको सम्भावना पनि बलियो देखिएको छ। महाधिवेशन स्थलमा रहेका प्रतिनिधिहरू शीर्ष नेतृत्वबाट स्पष्ट निर्णय र मार्गनिर्देशनको प्रतीक्षामा रहेका छन्।