काठमाडौं — जेनजी आन्दोलनको दमनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढ्दै गर्दा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । स्रोतका अनुसार एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओली पनि पक्राउ पर्दै छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको पुष्टि गरेका छन्। उनका अनुसार, लेखकलाई प्रहरी परिसर भद्रकाली ल्याइँदैछ ।
नयाँ सरकार गठनपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गरेका थिए।
प्रहरीले कारबाही अघि बढाउन सरकारसँग लिखित आदेश माग गरेपछि मध्यरातमा कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानालाई प्रहरी मुख्यालय बोलाइएको थियो। पछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पक्राउ पुर्जी जारी गरिएको स्रोतले जनाएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको दमनसम्बन्धी घटनामा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री लेखक तथा प्रहरी प्रमुख चन्द्रकुवेर खापुङमाथि फौजदारी अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो।
यद्यपि आयोगको प्रतिवेदन सरकारले औपचारिक रूपमा सार्वजनिक नगरेको भए पनि त्यसका केही अंश सञ्चारमाध्यममा बाहिरिएका छन्। यसैबीच, ओलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको जानकारी प्राप्त भएको छ।
मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत लापरबाहीपूर्ण तथा हेलचेक्र्याइँका कारण ज्यान जाने सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।
