नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले आयोगले प्रतिवेदन बुझाइसक्दा पनि सरकारले सार्वजनिक नगरेकोप्रति आपत्ति जनाउँदै ढिलाइ नगरी सार्वजनिक गर्नुपर्ने बताएका हुन्।

उनले वर्तमान सरकारको जिम्मेवारीभित्र निर्वाचन र उक्त घटनाको छानबिन पर्ने उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक नगर्दा विभिन्न आशंका र शंका उत्पन्न भइरहेको बताए।

पौडेलले आयोगले घटनाको गहिराइमा पुगेर निष्पक्ष छानबिन गरेकोमा विश्वास व्यक्त गर्दै दोषी ठहरिएका व्यक्तिहरूमाथि आवश्यक कारबाही गर्नुपर्ने धारणा राखे। साथै, प्रतिवेदन सार्वजनिक नभएसम्म अनावश्यक अड्कलबाजी बढ्ने भएकाले पारदर्शिताका लागि तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिए।