राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले व्यक्त गरेको अभिमतले जनप्रतिनिधिहरूको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभएको छ।
निर्वाचन आयोग नेपालद्वारा बहादुर भवनस्थित आयोग परिसरमा आयोजित जलपान कार्यक्रममा सम्बोधन गर्दै उहाँले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि सबै पक्ष एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।
“निर्वाचनमार्फत जनताले व्यक्त गरेको अभिमतअनुसार अब जनप्रतिनिधिहरूले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिका लक्ष्य हासिल गर्न एकजुट भएर काम गर्नुपर्ने दायित्व बहन गर्नुपर्छ,” उहाँले भन्नुभयो। लोकतन्त्रमा विचार फरक हुन सक्ने भए पनि राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै एकजुट हुने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले निर्धारण गरेका लक्ष्य हासिल गर्न सबैलाई एकताबद्ध भएर लाग्न आह्वान गर्नुभयो। उहाँले नागरिकहरूले मताधिकार प्रयोग गर्दै देखाएको उत्साहपूर्ण सहभागिताले लोकतान्त्रिक प्रणालीप्रतिको विश्वास थप सुदृढ भएको उल्लेख गर्नुभयो।
“मतदाताले मतदान केन्द्रमा पुगेर दिएको मतादेशले मुलुकको भविष्यलाई दिशानिर्देश गरेको छ,” उहाँले भन्नुभयो।
निर्वाचन आयोगले यसपटक मतदाता सहभागिता बढाउने, मितव्ययिता र पारदर्शिता कायम गर्ने, आचारसंहिता प्रभावकारी रूपमा लागू गर्ने तथा हरित निर्वाचनको अवधारणा कार्यान्वयन गर्ने जस्ता क्षेत्रमा उल्लेखनीय कार्य गरेको उहाँले प्रशंसा गर्नुभयो। यसले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र वातावरणमैत्री बनाउन सहयोग पुगेको उहाँको भनाइ थियो।
निर्वाचनलाई लोकतन्त्रको मेरुदण्डको रूपमा व्याख्या गर्दै उहाँले कठिन परिस्थितिमा पनि प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा सरकार, निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी तथा सम्पूर्ण नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभयो।
यसै अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले पनि निर्वाचन आयोगले कायम गरेको उच्च मानक आगामी निर्वाचनहरूमा समेत निरन्तरता दिनुपर्ने बताउनुभयो।
उहाँले देशभर कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नआएको र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्नुभयो। “यस निर्वाचनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि सुदृढ बनाएको छ र लोकतान्त्रिक मूल्य मान्यतालाई थप मजबुत बनाएको छ,” उहाँले भन्नुभयो।
प्रधानमन्त्री कार्कीले आफू पदमा नियुक्त हुँदा जटिल अवस्था रहेको स्मरण गर्दै त्यस्तो परिस्थितिमा पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गरिनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। आयोगको दृढता र सरकारको सहयोगका कारण निर्वाचन सफल भएको उहाँको भनाइ थियो।
यसपटक करिब १० लाख युवा मतदाताले उत्साहपूर्वक नाम दर्ता गरी मतदानमा सहभागी भएको उल्लेख गर्दै उहाँले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गराएकोमा निर्वाचन आयोगलाई धन्यवाद दिनुभयो।
