काठमाडौंको ठमेल क्षेत्रबाट २० जना विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ। अनैतिक गतिविधि तथा अभद्र व्यवहारमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार ती महिलाहरू युगान्डाका नागरिक हुन्। उनीहरूलाई काठमाडौं महानगरपालिका–२६ स्थित फायरचोक क्षेत्रबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार ती महिलाहरूले सडकमा हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषहरूलाई बाटो छेकी अनावश्यक रूपमा अश्लील गतिविधिसम्बन्धी मोलमोलाइ गर्दै हैरानी दिने गरेको अवस्थामा फेला पारिएपछि नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको एसपी भट्टराईले जानकारी दिए।
