नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को दाहिने घुँडाको सफल शल्यक्रिया न्युजिल्याण्डको अकल्याण्डमा सम्पन्न भएको छ। बुधबार बिहान अकल्याण्ड अस्पतालमा डाक्टर साइमन र उनको टोलीले शल्यक्रिया गरेका हुन्।
साम्बाले सामाजिक सञ्जालमार्फत शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएकी छन्। यसअघि उनले कतारस्थित एस्पेटार अस्पतालमा शल्यक्रिया गराउने योजना बनाएकी थिइन् र त्यसका लागि आर्थिक सहयोगको अपिलसमेत गरेकी थिइन्। तर मध्यपूर्व क्षेत्रमा बढेको तनावका कारण त्यहाँ पुग्न असहज भएपछि न्युजिल्याण्डमै शल्यक्रिया गर्नुपरेको उनले उल्लेख गरेकी छन्।
उनका अनुसार विशेषज्ञको सुझावअनुसार अकल्याण्डमै उपलब्ध चिकित्सकबाट शल्यक्रिया गरिएको हो। शल्यक्रियापछि बिहीबारदेखि पुनर्स्थापना प्रक्रिया सुरु हुने उनले जानकारी दिएकी छन्। अवस्था सामान्य रहेमा आगामी दिनमा पुनर्स्थापनालाई एस्पेटारमै निरन्तरता दिने योजना रहेको पनि उनले बताएकी छन्।
कठिन समयमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै साम्बाले वेलिङ्टन र अकल्याण्डमा रहेका नेपाली समुदाय, आफ्नो क्लब र व्यवस्थापन टोलीप्रति विशेष धन्यवाद व्यक्त गरेकी छन्। उनले समर्थकहरूको माया र सहयोगले आफूलाई पुनरागमनका लागि थप ऊर्जा मिलेको बताएकी छन्।
साम्बा गत पुस महिनामा अष्ट्रेलियन लिग खेल्ने क्रममा घुँडामा चोट बोकेकी थिइन्। यसअघि पनि वि.सं. २०७८ मा एन्फा महिला लिग खेल्दा उनको दाहिने घुँडाको मांसपेशी च्यातिएको थियो। हालको चोट सोही स्थानमा पुनः बल्झिएको हो।
